संखुवासभामा ८० जना कैदीबन्दीमा भाइरल ज्वरो प्रकोप

नेपालभ्युज

संखुवासभामा ८० जना कैदीबन्दीमा भाइरल ज्वरो प्रकोप

संखुवासभा : जिल्ला कारागार संखुवासभाका कैन्दीबन्दीमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप देखिएको छ। भाइरल ज्वरोको प्रकोपका कारण कारागारका अधिकांश कैदीबन्दी बिरामी भएका छन्।

केही दिनयता भाइरल ज्वरो र रुघाखोकीका कारण ८० जना कैदीबन्दी बिरामी परेको जिल्ला कारागार खाँदबारी प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए।

कारागारमा एक जना नाबालिकासहित १५४ जना कैदीबन्दी छन्। ‘घ’ श्रेणीको कारागारको क्षमता २५ जना रहे पनि पाँच गुणा कैदीबन्दी भएपछि उनीहरूलाई सुत्न र खान बस्नको समस्या छ। कैदीबन्दी बिरामी परेपछि कारागारमा थप समस्या थपिएको उनले बताए।

८० जनाभन्दा बढी कैदीबन्दी बिरामी परेपछि प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललको अनुरोधमा शुक्रबार कारागारमै स्वास्थ्य परीक्षण गरिएको जेलर अधिकारीले बताए।

जिल्ला अस्पताल संखुवासभाका निमित्त प्रमुख सुन्दरश्याम झासहितको टोलीले स्वास्थ्य परीक्षण गरेको उनले जानकारी दिए। कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा भाइरल ज्वरो र रुघाखोकीका बिरामी भेटिएको कारागार प्रमुख अधिकारीले बताए।

खाँदबारी कारागारमा १५४ जना कैदीबन्दीमध्ये ५३ जना थुनुवा छन्। जिल्ला कारागार खाँदबारी साढे ३ रोपनी क्षेत्रफलमा फैलिएको छ। क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राखिएको खाँदबारी कारागारमा उनीहरूका लागि सुधार गृहभन्दा पनि यातना स्थल भएको कैदीबन्दीहरूको गुनासो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved