विश्व आत्महत्या रोकथाम दिवस

लकडाउनले जीविका खोस्यो, अभावले जीवन

लकडाउनको समयमा छाक टार्नै समस्या भएपछि मानिसहरूले आत्महत्याको बाटो रोजे। सरकारको प्राथमिकतामा भने नागरिक होइन भवन, भ्यू टावर र मन्दिर परिरहे।

लकडाउनले जीविका खोस्यो, अभावले जीवन

काठमाडौं। २१ भदौमा डोटीको जोराइल गाउँपालिका-३ सेला बजारका जंगबहादुर नेपाली (जोगी)ले आत्महत्या गरे। कारण थियो- लकडाउन र ऋण।

गौरा पर्वको अन्तिम दिन थियो। परिवारका सबै गाउँमा लाग्ने मेलामा गएका थिए। जंगबहादुर नेपाली भने जंगलतिर छिरे। घरदेखि पाँच सय मिटर टाढाको जंगलमा उनलाई गाउँलेले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारेका थिए।

सोही गाउँका घण्टेश्वर माध्यमिक विद्यालयका शिक्षक नवीन ओझाका अनुसार पाँच भाइमध्ये जेठा हुन् जंगबहादुर। उनका १० वर्षे छोरा, ४ वर्षे छोरी र दुई वर्षे सानो छोरा छन्।

चार/पाँच वर्ष अघि भाइ ललित नेपालीको मस्तिष्कको शल्यक्रिया गर्नुपर्ने भएपछि जंगबहादुरले १० लाख रूपैयाँ ऋण लिएका थिए। ललितको शल्यक्रिया भयो। ललितको स्वास्थ्यमा सुधार आउन थालेपछि परिवारमा खुसी छायो। तर ऋणको भार भने जंगबहादुर एक्लैलाई पर्‍यो।

ऋण तिर्नकै लागि जंगबहादुर भारत छिरे। त्यहाँ मजदुरी गरेर कमाएको पैसाले बिस्तारै ऋण तिर्दै थिए। तर कोभिड महामारीको कारण नेपालसँगै भारतमा पनि लकडाउन भयो। उनको काम रोकियो। पहिलो लकडाउन त जेनतेन धाने। दोस्रो लकडाउनमा भने हालत खराब भयो। कमाइको त कुरै छोडौँ, खानको लागि समेत धौ-धौ भएपछि डेढ महीना अघि उनी नेपाल नै फर्किए। आर्थिक अवस्था निकै कमजोर भएपछि दिनहुँ पत्नी रुवाबासी गर्थिन्।

भारत जानु अघि उनी गाउँमा लुगा सिउँथे। बालीघरे प्रथा थियो। तर उनी भारत गएका बेला त्यो बाली भाइहरूलाई मात्रै गयो। ओझाका अनुसार घरको अवस्थाको कारण उनी मानसिक रूपमा अस्वस्थ भएका थिए। तर परिवारले उनलाई ‘देवीदेउता लागेको’ भनेर अस्पताल नलगी झारफुक गरिरह्यो।

ओझा भन्छन्, “रोजगारी गुमेपछि कुनै बाटो देखेनन् होला उनले। त्यसैले पत्नी गाउँमा गमरा खेल्न गएको बेलामा २१ गते दिउँसो उनी नजिकैको जंगलमा गएर आत्महत्या गरे।”

लकडाउनले साथीहरू लग्यो

जंगबहादुर कै छिमेकी हुन् तीर्थराज जोशी। छिमेकी भन्दा माथि साथीको सम्बन्ध थियो उनीहरूको। तीर्थले जंगबहादुरसँगै बाल्यकाल बिताएका थिए। तीर्थका अनुसार जंगबहादुर सोझा र सज्जन थिए। तर लकडाउनको कारण ऋण तिर्न नसकेको र परिवार चलाउन नसकेपछि भएको मानसिक तनावका कारण नै आत्महत्या गरेको बताउँछन्।

“साहुहरूले घच्घच्याउने गर्यो कि,” उनी अनुमान लगाउँदै भन्छन्, “छाक टार्नै समस्या भएपछि मानिसहरूले अन्य विकल्प नदेख्दो रहेछ क्यारे। छोराछोरीको लागि गाँस जुटाउन नसकेरै उनले पनि त्यो बाटो रोजेका हुन्।”

जंग मात्रै होइन, तीर्थको अर्का साथीले पनि लकडाउनकै समयमा आत्महत्या गरे। तीर्थसँगै कैलाली अत्तरियाको गोदावरी एफएममा काम गर्ने साथी २५ वर्षिय ललित ऐरले पनि वर्षदिन अघि लकडाउनकै समयमा आत्महत्या गरेका थिए।

ललितले आत्महत्या गर्नुअघिे भित्तामा झुन्डाइ राखेको ह्वाइट बोर्डमा लेखेका थिए, “मेरो जिन्दगीको रथ गुडिरहेको थियो, तर अहिले त्यो रथ भीरमा छ। न तल जान सक्छु, न त माथि नै उक्लिन सक्छु। त्यसैले मेरो अन्तिम निर्णय यही हो ड्याडी।”

आत्महत्या गर्नुअघि ललितले ‘आउ न भेट्न’ भन्दै फोन गरेका थिए तीर्थलाई। साथीले बोलाएपछि तीर्थ ललितको कोठा भएतिर लागेका थिए। तर उनी पुग्दा ललितको प्राण उडिसकेको थियो। आफु बस्ने कोठामै झुण्डिएर उनले आत्महत्या गरेका थिए।

“म उसको रुम पुग्नुभन्दा पहिले उसको बुवा पुग्नुभएछ। उहाँले छोरालाई झुन्डिएको अवस्थामा पाउनुभएको रहेछ,” उनी सम्झिन्छन्, “उसले किन यस्तो निर्णय लियो भनेर बुझ्नै सकिरहेको थिइनँ। पछि उसको बुवाआमासँग कुरा गरेपछि आर्थिक अभावको कारण रहेछ भन्ने थाहा भयो।”

कञ्चनपुरका थिए ललित। ललित सांगीतिक क्षेत्रमा लाग्न चाहेको र जसोतसो दुई लाख ऋण खोजेर म्युजिक भिडिओमा अभिनय गर्न पोखरा गएका थिए। तर त्यहाँका ललितका साथीले त्यो पैसा खाइदिए। अनि ललित कैलाली काममै फर्किए।

त्यसपछि देशमा लकडाउन भयो। ललितले काम नियमित गरिरहे, तर लकडाउनको कारण देखाउँदै तलब अनियमित भयो।

“एफएमको तलब नियमित थिएन, बिज्ञापनबाट उठ्ने पैसा उठेको थिएन। तैपनि साहुले ढिलोचाँडो पैसा दिन्थे,” तीर्थ भन्छन्, “दिनकै मेसेन्जरमा कुरा हुँदा पनि उसले कुनै दिन आफ्नो पीडाबारे सेयर गरेन। त्यही दुई लाख र भविश्यको चिन्ताले उसले यस्तो कदम उठाएको रहेछ।”

लकडाउनमा आत्महत्याको उकालो

आत्महत्यालाई कोभिड-१९ सँग जोडेर प्रसंग निकाल्दा मानिसहरू ‘मान्छे त पहिले नि मरिहाल्थे नि’ भनेर तर्क गर्छन्। तर अघिपछि भन्दा कोभिड-१९ का कारण भएको लकडाउनमा आत्महत्याको संख्या उकालो लागेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ। साथै लकडाउन हटेपछि आत्महत्या कम भएको देखिन्छ।

लकडाउन शुरू हुनु अघि २०७६/०७७ को साउन देखि सामान्यतः चैतसम्म तीन देखि पाँच सयको हाराहारीमा मानिसहरूले आत्महत्या गरेको देखिन्छ। तर २०७७ को बैशाखदेखि साउनसम्मको संख्या हेर्दा आत्महत्या निकै बढेको पाइन्छ। बैशाखमा आत्महत्या गर्नेको संख्या ५८० थियो भने, जेठमा यो संख्या बढेर ६६८ पुग्यो। असारमा त झनै ९७० जनाले आत्महत्या गरे। साउनमा यो संख्या ७०९ मा झर्‍यो।

साउनदेखि लकडाउन केही खुकुलो हुन थाल्यो। सानातिना व्यापार व्यवसाय सञ्चालनमा आए। लकडाउनको ग्राफ ओरालो लाग्यो। २०७७ भदौदेखि २०७८ वैशाखसम्म आत्महत्या दर मासिक पाँचसयमा ओर्लियो।

तर २०७८ को बैशाखमा जसै लकडाउन भयो, फेरि आत्महत्याको संख्या बढ्न थाल्यो। बैशाख २०७८ मा आत्महत्या गर्नेको ५९२ थियो भने जेठमा ६५७ पुग्यो। यो संख्या असारमा ८०१ पुग्यो।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा मात्रै सात हजार एक सय १७ जनाले आत्महत्या गरेको देखिन्छ। त्यसमध्ये पुरुषको संख्या तीन हजार नौ सय २८, महिलाको दुई हजार चार सय ४९, बालकको दुई सय ९४ र बालिकाको संख्या चार सय ७० रहेको छ।

अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन्। पाँच हजार सात सय ३१ ले झुण्डिएर आत्महत्या गरेका छन् भने एक हजार दुई सय ८६ जनाले विष सेवन गरेर। १५ जनाले आगो लगाएर भने १४ जनाले हातहतियारको प्रयोग गरेर। हाम फालेर ४४ जनाले भने डुबेर ३५ जनाले।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छन्। विश्वमा वार्षिक आठ लाख जनाले आत्महत्या गर्छन्। यीमध्ये ७५ प्रतिशत आत्महत्या न्यून आय भएका र विकासोन्मुख देशका मानिस छन्।

किन गर्छन् आत्महत्या ?

मनोविश्लेषक बासु आचार्यका अनुसार आत्महत्या आफैंंमा रोग होइन। यो त मनोरोगको परिणाम हो। आत्महत्याका लागि धेरै पक्षहरूले प्रेरित गरिरहेका हुन्छन्।

“मानिस बाँच्नको लागि जति प्रेरित हुन्छन्, त्यति नै मर्नको लागि पनि प्रेरित हुन्छन्,” उनी भन्छन्, “मानिसलाई डिप्रेसनले १५ दिनमै समात्न सक्छ, तर मानिसलाई आफू डिप्रेसनको शिकार भएको स्वीकार गर्न पाँच वर्ष लाग्छ।”

उनका अनुसार मानिस अधिर हुँदैछन्। आवेग, नकारात्मक सोच बढ्दैछ। अवस्थालाई स्वीकार गर्न नसक्ने समस्या बढ्दो छ। भन्छन्, “तील जत्रो समस्यालाई पनि पहाडजत्रो सोचेर आत्तिने गर्छन्। जसको कारण डिप्रेसन, सिजोफेनिया, पर्सनालिटी डिसअर्डर, एडजस्टमेन्ट प्रब्लम, बाइपोलार लगायत मानसिक रोगले समात्न सक्छ। मानिसमा यी रोग हुँदैमा मर्छन् भन्ने होइन। तर यस्ता रोग भएका मानिसले आत्महत्या गर्न सक्ने सम्भावनाचाहिँ हुन्छ।”

उनका अनुसार दीर्घ रोग भएका वा अत्यधिक लागुऔषध र मद्यपान गर्ने मानिसहरुमा पनि आत्महत्याको सोच आउन सक्छ।

बासुका अनुसार दिमागमा सेरोटोनिनको मात्रा कम छ भने मानिसले चाहेर पनि सकारात्मक सोच्न सक्दैन। दिमागमा डोपामिन भन्ने रसायन बढी भएमा मानिसमा भ्रम पैदा हुन्छ। यसले अरूले आफूमाथि षडयन्त्र गरिरहेको महशुस गराउँछ।

आत्महत्याको अर्थ-राजनीतिक पाटो

आत्महत्या मानिसको मानसिक स्वास्थ्य, सामाजिक परिवेशसँग मात्रै नभई अर्थ राजनीतिक पाटोसँग पनि जोडिएको हुने समाजशास्त्री राम गुरुङ बताउँछन्।

“मानिसको स्वभाव नै सामाजिक हुन्छ तर लकडाउनको समयमा घरभित्रै थुनिनु पर्‍यो, अन्तक्रिया गर्न पाएनन्”, गुरुङ भन्छन्, “समस्या धेरै तर समाधान शून्य भएपछि मानिसले आत्महत्याको बाटो रोज्छन्।”

समयसँगै आत्महत्या बढ्दै गएको उनी बताउँछन्। आत्महत्याको लागि मानिसले रोज्ने विधिबाट यो वृद्धि थाहा हुने उनले तर्क गरे।

“देशमा राजनीतिक परिवर्तन हुनुअघि मानिस ‘मलाई केही समस्या परे, परिवार, आफन्त, इस्टमित्र छन्’ भनेर सोच्ने गर्थे। तर शहरीकरण बढ्दै गएपछि पेशा परिवर्तन भयो। अनि मान्छेको रहनसहन फेरिन थाल्यो। जसले गर्दा मानिसले आफुलाई केन्द्रमा राखेर ‘आफ्नो लागि’ मात्रै सोच्न थाल्यो,” उनी भन्छन्, “मानिसहरू पहिले जंगल, खोलामा बढी आत्महत्या गर्थे। तर अहिले कोठामा धेरै आत्महत्या गर्छन्। मानिस एक्लिन थाले। आफु केन्द्रित सोच आउन थाल्यो।”

योजनाविहीन योजना आयोग

२८ जुन २०२१ मा प्रकाशित पन्ध्रौं योजना(२०७६/७७- २०८०/८१) प्रकाशित भएको थियो। उक्त योजनाका अनुसार आधारवर्ष २०७५/७६ मा आत्महत्या प्रतिलाख जनसख्यामा १० थियो भने २०८०/८१ मा यसलाई घटाएर ५ पुर्‍याउने लक्ष्य राखेको थियो। साथै क्रमशः २०८६/८७ मा ३ गर्दै २१००/०१मा शुन्य पुर्‍याउने लक्ष्य राखेको थियो।
साथै आधारवर्ष २०७५/७६ मा आधारभूत खाद्य सुरक्षाको स्थितिमा रहेका परिवार केबल ४८.२ प्रतिशत मात्रै थियो। २०८०/८१ मा यो बढाएर ८० प्रतिशत, २०८६/८७ मा ९५ प्रतिशत र २१००/०१मा १०० प्रतिशत पुर्याउने लक्ष्य राखेको थियो।

कोभिड-१९ महामारीले भने यो संख्या घट्नुको साटो बढाइदिएको छ। तर आयोगले कोभिडका कारण आम जनजीवनमा पारेको असरबारे भने विस्तृत अध्ययन गरिसकेको छैन। अगस्ट २०२१ मा प्रकाशित आयोगको ‘मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स २०२१’ (बहुआयामिक गरिबी सूचक-२०२१) सन् २०१९ को अध्ययनमा आधारित छ।

गरिबी निवारण गर्न, आत्महत्या गर्न निरुत्साहित गर्न र रोजगारीमा फर्काउन कुनै प्रभावकारी काम नभएको आयोगका एक अधिकारी बताउँछन्।

“अगस्टमा ‘मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स २०२१’ सार्वजनिक गरेको हो, अहिलेसम्म भएको अध्ययन भनेकै त्यही हो,” उनी भन्छन्, “कोभिडपछि कति परिवार गरिब भए, कतिको रोजगारी गुम्यो भनेर आयोगलाई नै थाहा छैन, के योजना बनाउँछ। आत्महत्या निरुत्साहनको लागि के नै गरेको छ र ? बनेका योजना पनि कार्यान्वयन भएका छैनन्।”

आयोगले केही समयअघि ‘मध्यमकालीन खर्च संरचना (आ.व.२०७८/७९-२०८०/८१) तथा वार्षिक विकास कार्यक्रम (आ.व.२०७८/७९)’ सार्वजनिक गरेको थियो। त्यसमा पनि आत्महत्या कम गर्ने सम्बन्धमा कुनै कार्यक्रम छैन। तर गरिब लक्षित विशेष कार्यक्रम गर्ने दाबी भने गरेको छ।

उक्त कार्यक्रममा गरिबीको रेखामुनी रहेको जनसंख्या १६.६७ प्रतिशत र बहुआयामिक गरिबी सूचकांक २८.६ प्रतिशत रहेको उल्लेख छ। साथै उक्त विकास कार्यक्रममा आयोगले हाल ५० भन्दा बढी गरीब लक्षित कार्यक्रम सञ्चालन भइरहेको दावी गरेको छ। ती कार्यक्रम लक्षित वर्गमा केन्द्रीत गर्न गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अगाडि बढेको समेत दावी गरेको छ। नीति तथा योजना निर्माण, नियमन र व्यवस्थापन गर्ने र पहिचान गरिएका गरिब घर परिवार लक्षित कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित ४६२००(लाखमा) खर्चमा देशका गरिब घरिपरिवारको तथ्याक संकलन हुने अपेक्षा गरेको छ। त्यस्तै त्यस्ता गरिब घरपरिवारको समूहमार्फत् जीविकोपार्जन अभिवृद्धि भएको हुने अपेक्षा गरिएको छ। यसका लागि जिल्लाको परिचय पत्र तयारी भएको, जिल्लाका गरिब घर परिवारको तथ्यांक संकलन भई प्रशोधन तथा विश्लेषण भइरहेको र जिल्लाको तथ्यांक संकलन कार्य भइरहेको उल्लेख गरेको छ।

तथ्यांक संकलन कति समयमा भइसक्छ र त्यो गरिबहरुको लागि कसरी प्रभावकारी हुन्छ भन्ने कुरा उल्लेख छैन।

सरकारलाई नागरिक भन्दा पूर्वाधार प्यारो

कोभिड-१९ को कारण लकडाउन भयो। जनजीवन रोकियो, तर रोकिएन, भवन, सडक निर्माणको काम।

अघिल्लो लकडाउनका समयमा राष्ट्रपति कार्यालयमा ८४ लाखको बैठक र शौचालय बनाउन टेण्डर खुलेको थियो। १३ जेठ २०७७ मा शहरी विकास तथा भवन निर्माण विभागले एक करोड ५७ लाख रूपैयाँ र १७ जेठमा २७ लाख रूपैयाँ छुट्याएको थियो। त्यस्तै सिंहदरबारभित्रै रहेको संघीय संसद भवनको निर्माणको काम लकडाउनमा रोकिएन।

लकडाउनको समयमा पनि मन्दिर बनिरहे। मानिसहरू खान नपाएर सडकमा मर्दा पनि सरकारले खाना बितरण गरेन। ‘हन्ड्रेड्स ग्रुप’ले खुलामञ्चमा खुवाएको खाना पनि पछि काठमाडौं महानगरपालिकाले जबरजस्ती अन्यत्रै सार्न लगाएको थियो।

कोभिड कहरकै बेलामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा पुजाआजा गरेर १०८ किलोको सुनको जलहरी राख्न निर्देशन दिएका थिए।

दुःखका साथी भएनन् राजनीतिक दल

सरकारले मानिसको आधारभूत आवश्यकता भन्दा पनि अन्य क्षेत्रमा बजेट खर्च गरिरहेको तीर्थराज जोशी गुनासो गर्छन्।

“सरकारका लागि विकास भनेकै बाटोघाटो बनाउने, कालोपत्रे गर्ने, कलकारखानामा लगानी गर्नुरहेछ। त्यसैले लकडाउनको समयमा र अहिले पनि धमाधम यस्ता विकास रोकिएका छैनन्,” उनी भन्छन्, “तर गरीबीको रेखामुनी रहेको पिछडिएका वर्गको लागि सरकारले बाँच्ने आधार नै दिन सकेन।”

समाजशास्त्री राम गुरुङका अनुसार सरकार राज्यको ऐना हो। कोभिड-१९ ले निम्त्याएको लकडाउनको समयमा राज्य जनताप्रति जवाफदेही हुन सकेन। किनभने सरकारले राजनीतिक स्थायित्व भनेको नै चुनाव भन्ने बुझेको छ।

उनी भन्छन्, “जनताले चुनावमार्फत् प्रतिनिधि चुन्छन्। तर यहाँ प्रणाली नै फरक भयो। सरकार जनतासँग एकाकार नै हुन सकेन। त्यसैले सरकारको प्राथमिकतामा आम नागरिकका मसिना समस्याहरू परेनन्।”

मनोविश्लेषक वासु आचार्य पनि सरकारकै कारण मानिसहरु आत्महत्या गर्न बाध्य भइरहेको उल्लेख गर्छन्। भन्छन्, “हेर्दा मानिसको आत्महत्या गर्ने आफ्नै कारण हुन्छ, तर त्यसमा अप्रत्यक्ष रूपमा समाज र सरकार जोडिएको हुन्छ। नेपालमा काम नभए मन नलागी-नलागी विदेश जान्छ। त्यहाँ काम गर्दा गाह्रो हुन्छ, बेचैनी हुन्छ। त्यसमाथि लकडाउन भएर नेपाल फर्किएपछि पनि ऋण तिर्नुपर्छ, रोजगारी गुम्छ। आत्महत्या गर्ने मानिस मात्रै होइन, नीतिनियम, समाज सबै दोषी छ।”

आत्महत्या कम गर्न के गर्ने

मनोविश्लेषक आचार्यका अनुसार आत्महत्या रोकथाम गर्ने भनेको हतियार भनेकै जनचेतना हो। त्यसैले सरकारले जनचेतना रणनीति बनाउनुपर्छ। मानिसको अवस्था बुझेर उसलाई काउन्सिलिङ गर्नुपर्छ।

उनका अनुसार आत्महत्या गर्ने वा मानसिक रोगले ग्रस्त मानिसले विभिन्न संकेत देखाउँछन्। तिनलाई परिवारका सदस्य बुझेर हल गर्ने कोशिस गर्नुपर्नेमा उनी जोड दिन्छन्। कुनै पनि मानिसलाई धेरै गाली मात्रै गरिरह्यो भने पनि उसमा मृत्युको सोच आउन सक्ने भएकाले परिवारका सदस्यलाई बुझ्ने कोशिस गर्नुपर्ने उनी बताउँछन्।

“यदि आफ्ना परिवारको सदस्य एक्लै बस्न रुचाउने, उदास रहने, काममा मन लगाउन नसक्ने भयो भने उनीहरूलाई के भएको छ भनेर बुझ्न पर्छ,” उनी भन्छन्, “उनीहरूले सामाजिक सञ्जालमा दर्दनाक, एक्लो भएको महशुस दिने खालका, आँशुले भरिएका समाचार, ट्रोल वा कविता, शायरीहरू सेयर गर्छन्। ऋणी भएर मर्न नचाहनेहरू कोही आफुले लिएको ऋण तिर्दै हिँड्छन्। परिवारका सदस्य कुन अवस्थामा छन् त्यो बुझ्नपर्छ।”

आचार्यका अनुसार यस्ता मानसिक समस्या व्यवस्थापन गर्ने मुख्य तीन तरिका हुन्छन्। एउटा औषधि सेवन हो भने अर्को साइकोथेरापी। औषधि सेवनले मस्तिष्कमा थपघट भएको तत्वहरू समायोजन गर्छ। साइकोथेरापीले मानिसको सोच्ने नजर नै परिवर्तन गर्छ। तेस्रो तरिका हो, इलेक्ट्रोकन्भल्सिभ थेरापी गराउन सकिन्छ। इलेक्ट्रोकन्भल्सिभ थेरापी भनेको मेजर डिप्रेसन वा बाइपोलार डिसअर्डर भएकाहरूको उपचारको लागि प्रयोग गरिन्छ।

आचार्य भन्छन्, “त्यस्तै घरमा दीर्घ रोगी वा कुनै मानसिक रोगी छन् भने परिवारका सदस्यले घरमा उनीहरूको कोठाको चुकुल याद गरिरहनुपर्छ। र सिलिङमा पर्खा झुण्ड्याउने वा कुनै अड्काउन मिल्ने कुराहरू राख्नुहुँदैन। धेरै नै गाह्रो छ भने रिह्याबमा पनि राख्न सकिन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved