फतेमा सुमारको नेपाल भ्रमण

एमसीसी उपाध्यक्षको दौडधुप, कुन नेतासँग के भयो कुराकानी ?

नेपालमा अमेरिकी सहयोग परियोजना ‘एमसीसी’को विषयमा तीव्र विवाद चलिरहेको समयमा परियोजनाको पक्षमा माहोल बनाउन टोलीसहित आएकी सुमार काठमाडौं ओर्लिएदेखि नै भेटघाटमा लागेकी छिन्।

नेपालभ्युज

एमसीसी उपाध्यक्षको दौडधुप, कुन नेतासँग के भयो कुराकानी ?
नेपाल भ्रमणका क्रममा एमसीसी उपाध्यक्ष फातेमा सुमार

काठमाडौं। एमसीसीकी उपाध्यक्ष फतेमा सुमार चारदिने नेपाल भ्रमणका लागि २४ भदौमा नेपाल आएकी छन्। नेपाल आइपुगे लगत्तै सुमार भेटघाटमा सक्रिय भएकी छन्। नेपालमा अमेरिकी सहयोग परियोजना ‘एमसीसी’को विषयमा तीव्र विवाद चलिरहेको समयमा परियोजनाको पक्षमा माहोल बनाउन टोलीसहित आएकी सुमार काठमाडौं ओर्लिएदेखि नै भेटघाटमा लागेकी छिन्।

आएकै दिन दिउँसो उनले प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिन्। आफ्नो टोलीसहित ओली निवास बालकोट पुगेकी सुमारले छलफलका क्रममा एमसीसी अनुदानको विषय भएकाले यसमा विवाद हुनुनपर्ने धारणा राखेकी थिइन्।

ओलीसँग भेटपछि सुमारले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया पनि दिएकी थिइन्। पत्रकारहरूलाई उनले नेपाल आउँदा  खुशी लागेको बताइन् तर ओलीसँगको भेटबारे खासै चर्चा गरिनन्।

ओलीसँगको भेटमा उनले एमसीसीको विषयमा अब एमालेले लिने निर्णयको विषयमा जिज्ञासा राखेको पार्टीका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए। सुमारको जिज्ञासामा ओलीले सरकारमा हुँदा सम्झौता अघि बढाउन पहल गरेको तथा अहिले आफू प्रतिपक्षमा रहेको जानकारी गराएका भट्टराईले बताए। सभामुखकसहितका केही व्यक्तिले आफूहरू सरकारमा हुँदा एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन नदिएको भट्टराईको जिकिर थियो। अहिले सरकारले पनि एमालेसँग एमसीसीको विषयमा कुनै परामर्श नगरेको जवाफ सुमारलाई दिएको ओलीलाई उधृत गर्दै भट्टराईले उल्लेख गरेका थिए।

ओलीसँगको भेटपछि सुमारको टोलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबार पुगेर भेट गरेको थियो। कुराकानीमा सुमारले आफू एमसीसीको पक्षमा दबाब दिनका लागि नभई नेपालमा एमसीसीको विषयमा रहेको बुझाइ र परिस्थितिबारे जानकारी दिनका लागि आएको प्रष्ट पारेकी थिइन्। उनले एमसीसीको विषयमा एकीकृत समाजवादीको धारणा पनि सोधेकी नेता डा. गंगालाल तुलाधरले जानकारी दिए।

सुमारको प्रश्नपछि अध्यक्ष नेपालले एमसीसी राष्ट्रको हितमा भएमात्र स्वीकार गर्ने जवाफ दिएको तुलाधरले बताए। “एमसीसीबारे रहेका अन्योल प्रष्ट पारेपछि मात्रै सहयोग रहने अध्यक्ष नेपालले सुमारलाई भन्नुभयो”, तुलाधरले बताए।

नेपालसँगको भेटपछि २४ भदौको बेलुका सुमारको टोलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग होटल मेरियट पुगेर भेट गरेको थियो।

सुमारको टोलीसँगको भेटमा एमसीसीको विषयमा उपयोगी छलफल भएको भेटपछि डा. भट्टराईले बताए।

सुमारको टोलीसँगको भेटपछि डा. भट्टराईले एमसीसीको पक्षमा उपयोगी छलफल भएको उल्लेख गर्दै ट्वीट नै गरेका थिए। उनले सुमारको जिज्ञासामा प्रमुख दलहरूबीच छलफलपछि सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी गराएको पनि जनाएका छन्।

ओली, नेपाल, भट्टराई र यादवसँग छलफल गरेको सुमारको टोली आज (२५ भदौ) बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुग्यो। करीब एक घण्टाको छलफलमा सुमारले एमसीसीका पक्षमा माहोल बनाउन आग्रह गरेको दाहाल सचिवालयले जनाएको छ।

भेटमा प्रचण्डले सुमारलाई एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएका थिए। प्रचण्डले देशको अग्रगमनको संवाहक वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको पनि बताए।

सुमार टोलीले आजै प्रधानमन्त्री देउवासँग भेट्ने तय भएको छ।

चारदिने भ्रमणका लागि नेपाल आएको उपाध्यक्ष सुमारको टोलीले अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसालसँग पनि भेट्ने औपचारिक कार्यक्रम रहेको छ। सुमारको नेपाल आगमनलगत्तै एमसीसी परियोजनाको विरोध चर्किएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved