चिनफिङ र बाइडेनले फोनमा गरे कुराकानी

अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेलगत्तै भएको यो फोन वार्तालाई महत्त्वका साथ हेरिएको छ।

नेपालभ्युज

चिनफिङ र बाइडेनले फोनमा गरे कुराकानी

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ।

आजै दुई राष्ट्रप्रमुखबीच फोन वार्ता भएको समाचार ‘ग्लोबल टाइम्स’, ‘पिपल्स डेली’ लगायतका अंग्रेजी माध्यमका चिनियाँ सञ्चारमाध्यमहरूले प्रकाशन गरेका छन्।

बाइडेनले पद ग्रहण गरेलगत्तै भएको पहिलो फोन वार्ताको सात महीनापछि दुई नेताहरूबीच कुराकानी भएको हो। अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेलगत्तै भएको यो फोन वार्तालाई महत्त्वका साथ हेरिएको छ।

२० वर्ष लामो युद्ध ‘अन्त्य गर्दै’ अमेरिका अफगानिस्तानबाट बहिर्गमन हुन थालेपछि चीन र तालिबानबीच सम्पर्क विस्तार भएको थियो। गत जुलाईमा तालिबानी नेताहरूले चीन पुगेरै चिनियाँ नेतालाई भेटेका थिए।

‘राष्ट्रपति चिनफिङले बाइडेनसँग चीन-अमेरिका सम्बन्ध र आम चासोका विषयमा स्पष्ट, गहन र विस्तृत रणनीतिक वार्ता गरे’–ग्लोबल टाइम्सले लेखेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले ‘ह्वाइट हाउस’लाई उद्धृत गर्दै दुई राष्ट्रपतिबीच करीब ९० मिनेट कुराकानी भएको उल्लेख गरेको छ। ‘हाम्रा स्वार्थहरू मिल्ने क्षेत्र र स्वार्थ, मूल्य र दृष्टिकोण नमिल्ने क्षेत्रबारे कुराकानी भयो’, वक्तव्यमा भनिएको छ।

नाम उल्लेख गर्न नचाहने ह्वाइट हाउसका एक अधिकारीले त्यहाँका उच्चपदस्थहरू यो वार्ता लाभदायी हुनसक्नेमा विश्वस्त छन्।

ह्वाइट हाउसका अधिकारीका अनुसार बाइडेनले चिनफिङलाई उनको सरकारको नीति चीनलाई मानव अधिकार लगायतका विषयमा दबाब दिने नरहेको स्पष्ट पारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved