विद्रोहको स्मृति

झापा विद्रोहका योद्धा सोध्छन्- खोइ गणतन्त्र कहाँ आयो ?

झापा विद्रोहका क्रममा १७ वर्ष जेल परे, यातना भोगे । अहिले हातमुख जोर्न संघर्ष गर्दै सुकुमबासी जीवन बिताइरहे छन्, सानो दुर्गा अधिकारी ।

नेपालभ्युज

झापा विद्रोहका योद्धा सोध्छन्- खोइ गणतन्त्र कहाँ आयो ?

धुलाबारी (झापा) । नेपाली राजनीतिक आन्दोलनको इतिहासमा झापा विद्रोहको बेग्लै महत्त्व छ । झापा विद्रोहबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्ने थुप्रै नेता तयार भएका छन् । सोही विद्रोहबाट उदाएका नेता केपी ओली देशकै प्रधानमन्त्री भइसकेका छन् ।

झापा विद्रोहकै नेतृत्वमा रहेका सीपी मैनाली र राधाकृष्ण मैनाली पनि पटक-पटक मन्त्री बनेका छन् । उनीहरुको जीवनशैली सुख र सुविधाले भरिपूर्ण छ । तर उक्त विद्रोहमा सहभागी सबैले त्यस्तै सुविधासम्पन्न जीवन व्यतित गर्ने अवसर पाएका छैनन् । तीमध्ये एक हुन्, सानो दुर्गा अधिकारी ।

झापा विद्रोहमा लागेकै कारण कठोर यातनासहित १७ वर्ष जेल जीवन बिताएका सानो दुर्गा अधिकारी (७०) अहिले मेचीनगर-१० स्थित टिमाई नदीको किनारामा सुकुम्बासी जीवन बिताइरहेका छन् । बल र वैश छँदा वर्गीय समानताका लागि राज्यसत्तासँग लडेका उनले अहिले बिहान-बेलुका हात जोर्न संघर्ष गरिरहनुपरेको छ ।

पार्टी र कम्युनिष्ट सिद्धान्तका लागि कहिल्यै सम्झौता नगरी अघि बढेका अधिकारी अहिले पार्टीको हदैसम्मको बेवास्तामा परेका छन् ।
“मेरो नाममा एक टुक्रा पनि जग्गा छैन”, उनी भन्छन्, “टिमाइको बगरमा ऐलानी जग्गामा घर बनाएर बसेको छु ।”

उमेरले नेटो काट्दै छ । तर स्मृति अझै पनि ताजै छन् । जबजब सञ्चारमाध्यममा आफूसँगै विद्रोहमा लागेका साथीहरु देखापर्छन्, उनी विगतको स्मृतिमा डुबुल्की लगाउन पुग्छन् ।

विद्रोहको स्मृति
त्यतिबेला झापाका गाउँ-गाउँमा कम्युनिष्टहरुको प्रभाव बढ्दै थियो । किसानहरुलाई जमिन्दार र सामन्तवादविरुद्ध विद्रोही हुन सिकाइँदै थियो । सानो दुर्गा पनि त्यसको आकर्षणमा पर्दै गए ।

“हामी त गोठाला, किसानको छोराछोरी । गरिबीकै कारण स्कुलको आँगन पनि टेक्न पाइएन”, उनी सम्झिन्छन््, “बाहिर-बाहिर कम्युनिष्टको विचार सुन्थेँ । मलाई पनि निकै प्रभाव परेको थियो ।”

०२७ सालको जाडो महिनाको एक दिन उनका दाइको घरमा केही नयाँ मान्छे आएका थिए । उनी पाहुना होलान् भनेर हेर्न गए । तर, दाइले ‘पार्टीको मान्छे’ भनेर परिचय गराए ।
“बाहिर हल्ला नगर्नु पार्टीको मान्छे हो भनेर दाइले चिनाउनुभयो”, उनी सुनाउँछन्, “पछि बुझ्दा त नेत्र घिमिरे आउनुभएको रहेछ ।”

घिमिरेसँगकोे भेटपछि कम्युनिष्ट आन्दोलनप्रति उनको मोह बढ्दै गयो । गरिब किसानको परिवारमा हुर्किएका उनले धनी र गरिबबीचको खाडल पैलाउँदै गए ।
“सामन्तीविरुद्ध डटेर मात्र गणतन्त्र स्थापना गर्न सकिन्छ भन्ने लाग्यो । गरिबलाई पनि समान रूपमा बाँच्ने अधिकार स्थापित गर्न आन्दोलनमा लाग्नुपर्छ भन्ने भयो”, उनी भन्छन्, “त्यही दिनदेखि म पार्टीमा आबद्ध भएँ ।”

“पार्टीमा जिम्मेवारी पाउन पैसा, गाडी हुनुपर्ने रहेछ । मिटिङ बस्नलाई ठूलो घर हुनुपर्ने रहेछ । मसँग यी कुरा नभएपछि विस्तारै जिम्मेवारी पाउनै छाडियो”

पार्टीमा उनको जिम्मेवारी थियो- गाउँमा संगठन विस्तार गर्ने, पार्टीका दुश्मन, समर्थक र वैचारिक हिसाबले फकाउँदा आउने व्यक्ति टुंगो लगाउने ।

त्यसबेला उनको घर हालको अर्जुनधारा नगरपालिकाको होक्सेमा ऐलानी जग्गामा थियो । सानैमा बुबा गुमाएका थिए । आमा आँखा देख्दिन थिइन् । भाइ सानै थिए । आमाले मागेर ल्याएको खानाले उनको परिवार चल्थ्यो । उनी पार्टीमा लागेपछि परिवार नै विस्थापित हुने अवस्था आयो ।

“गाउँमा हल्ला हुन थाल्यो । दुश्मनले कुरा पनि लगाए । घरमा बस्ने अवस्था आएन । भाइ भाग्यो । आमा मागेरै खान थाल्नुभयो”, उनी भन्छन्, “त्यो बेला पार्टीमा लागेकालाई प्रहरीले भेट्टाए खुब यातना दिन्थ्यो । शरीरले थाम्दैन होला झै लाग्थ्यो । यसरी बस्दा त पक्राउ गर्छ कि भनेर पार्टीमा पूर्णकालीन भएर भूमिगत भएँ ।”

भूमिगत हुँदा उनी १८/१९ वर्षको लक्का जवान थिए । त्यही समयमा राज्य पक्षले उनीहरूलाई हत्या लगायतका विभिन्न मुद्दा लगाएको थियो । २०३० सालको कात्तिकमा उनी इलामको शान्तिपुरबाट पक्राउ परे ।

“म र रामप्रसाद प्रधान पक्राउ पर्‍यौँ । त्यो बेला हामी टाटीले बारेर बनाएको सानो कटेरो जस्तोमा थियौँ । हामीलाई बाँसको भाटा तिखो पारेर बाहिरबाट लगातार आधा घण्टाभन्दा धेरै घोच्यो,” उनी त्यो कहालीलाग्दो दिन सम्झन्छन्, “त्यो यातना त सम्झनै सकिन्नँ । यसको पीडा खप्न नसकेर रामप्रसादजीले प्राण त्याग्नुभयो ।”

त्यसको एक महिनाअघि मात्र रौतहटबाट केपी शर्मा ओलीलगायत पक्राउ परेका थिए । उनीहरूलाई वीरगञ्जको जेलमा राखिएको थियो । सानो दुर्गासहित केही कम्युनिष्ट कार्यकर्तालाई पक्राउ गरेर प्रहरीले ठाना लग्यो । त्यहाँको यातना सम्झँदा पनि उनको आङ अझै सिरिङ्ग हुन्छ रे ! केही महिना भद्रपुर जेलमा राखेर उनलाई वीरगञ्ज हुँदै काठमाडौंको भद्रगोल जेलमा पुर्‍याइयो । जेलभित्रको यातनाले उनको शरीर अहिले पनि छियाछिया छ ।

“केही समय भद्रगोल जेलमा बसेपछि झापा आन्दोलनका क्रममा पक्राउ पर्नुभएका साथीहरूले जेलबाट सुरुङ खनेर भाग्नुभएको खबर पायौं । उहाँहरू भागेपछि प्रशासन हच्कियो । हामीमाथि कडाइ गर्‍यो”, उनी भन्छन्, “तल राख्दा खनेर भाग्छन् । माथि राख्दा उडेर जान्छन् भनेर हामीलाई बीच तलामा राखियो । अगाडि हात पारेर लगाइएको हतकडी थियो । पछाडि हात पारेर लगाइयो । खुट्टाको नेल झनै टाइट बनाइयो ।”

पछि उनलाई सेन्ट्रल जेल लगियो जहाँ राधकृष्ण मैनाली, केपी ओलीलगायत थिए । त्यहाँ ६ महिनासम्म गोलघरभित्र राखियो जहाँ सुत्न पनि पर्याप्त ठाउँ हुँदैन थियो ।
“त्यो बेला पञ्चले लोभ पनि देखाउँथे । दबाब पनि दिन्थे । झापा आन्दोलनबाट जेल परेका साथीहरू कसैले शीर पनि झुकाएनन्”, उनी सुनाउँछन् ।

०३६ सालको विद्यार्थी आन्दोलनपछि सबै राजबन्दी मुक्त हुने भए । तर झापा विद्रोहमा लागेकालाई छोडिएन ।
“झापा आन्दोलनमा लागेकालाई परिवर्तन गर्न सकिँदैन । यिनीहरू अपरिवर्तनीय छन् भन्ने गरिन्थ्यो । त्यही भएर हामीलाई छाडिएन । हामीलाई त अनेक मुद्दा लगाइएको थियो”, विगत सम्झिँदै सुनाउँछन् सानो दुर्गा ।

०३६ सालको आन्दोलनको केही लाभ भने भयो । उनीहरुलाई राजबन्दीको रुपमा लिन थालियो । सेन्ट्रल जेलबाट नख्खु सारियो ।
“पहिला हामीलाई मोटो चामलको भात दिन्थ्यो । त्यसपछि मसिनोको दिन थाल्यो । पत्रिका पढ्न पाउन थाल्यौँ”, उनी भन्छन्, “त्यसपछि बल्ल राजबन्दीको व्यवहार गर्न थालियो ।”

झापा विद्रोहमा लागेकै कारण केपी ओलीले १४ वर्ष जेल बिताउनुपर्‍यो । उनका सारथि सानो दुर्गालगायतले १७ वर्ष जेल जीवन बिताएर २०४६ मा खुला आकाशमुनि आए ।

केही महिना काठमाडौंमा बसेर जनआन्दोलनमा सहभागी भएर उनी झापा फर्किए ।
“मेरो घर थिएन । जग्गा पनि अरूले लगिसकेका थिए । आमा पार्टीको मान्छेकहाँ, कहिले आफन्तकहाँ बस्दै आएकी रहिछन्”, उनी भन्छन्, “आँखा नदेख्ने आमालाई दया लाग्नेले सहयोग गर्दै आएका रहेछन् । जेलबाट निस्केको तीन वर्ष त पार्टी कार्यालयमा बसियो । तर, सधैँ त्यहाँ बसेर पनि भएन । आफ्नो एक टुक्रा पनि जमिन थिएन ।”

उनले धुलाबारीस्थित टिमाई खोलाको बगरमा खाली जग्गा देखे । त्यहीँ टहरो बनाएर आमालाई ल्याएर राखे । त्यसको केही वर्षपछि विवाह पनि गरे ।

अवसरबाट वञ्चित
जेल जीवनबाट मुक्त भएपछि सानो दुर्गा राष्ट्रिय राजनीतिमा आउन चाहेनन् । उनीसँगै जेल परेका नेताहरु मन्त्री बन्दै गर्दा उनी गाउँ फर्किए । कम्युनिष्ट विचार प्रवाहमा लागिपरे । तर पार्टी फेरिइसकेको थियो । पार्टीभित्र अवसर पाउन छाडे । नयाँ पुस्ताले उनीहरूको योगदानलाई बिस्तारै बिर्सँदै गयो । पछि पार्टी कमिटीबाट पनि बाहिरिँदै गए ।

“पार्टीमा जिम्मेवारी पाउन पैसा, गाडी हुनुपर्ने रहेछ । मिटिङ बस्नलाई ठूलो घर हुनुपर्ने रहेछ । मसँग यी कुरा नभएपछि विस्तारै जिम्मेवारी पाउनै छाडियो”, उनी भन्छन्, “चुनाव लड्नुपर्छ भन्थे । त्यो मन लागेन । तर म कम्युनिष्ट विचारमा अडिग छु । मरेको दिनमात्रै त्यो विचारबाट टाढा हुनसक्छु ।”

हामीले कल्पना गरेको गणतन्त्र त यस्तो थिएन । सबैलाई गाँस, बास र कपासको व्यवस्था हुने गरीको गणतन्त्र परिकल्पना गरेका थियौँ ।

आफू गुमनाम हुनुको दोषी उनी पार्टी र सञ्चारमाध्यमलाई देख्छन् ।
“मलाई कसले गुमनाम बनायो ? यही पार्टीले होइन ? सञ्चारमाध्यमले होइन ?”, प्रश्न गर्छन् उनी, “मैले राजनीतिबाट सन्यास लिएको त हैन । जेलबाट आउँदा अरू साथीजस्तै आएको हुँ । उहाँहरू जस्तै १७ वर्ष जेल परेको हो ।”

सहयोद्धा केपी ओली देशको सर्वोच्च पदमा पुग्दा पनि सानो दुर्गाको जीवनस्तर झन् खस्किँदै गएको छ । खानाकै लागि पनि दैनिक चिन्ता लिनुपर्ने अवस्था छ । ओली पटकपटक सत्तामा पुगे । तर, उनीबारे कहिल्यै सोधपुछ गरेनन् ।

“पूर्वमा केपी आउने रे भनेपछि म घर अगाडिको बाटोमा पुग्छु । पुलिस पछाडिको उहाँकै गाडि होला भनेर हेर्छु अनि फर्कन्छु”, भन्छन्, “उहाँ पटक-पटक सत्तामा पुग्नुभयो । उहाँलाई मेरो बारेमा सबै थाहा छ । तर, केही गर्नुभएन । एकपटक छोरी काठमाडौं बसेर पढ्दा होस्टेलको फी ५० हजार तिरिदिनुभयो । यहाँ आफ्नो आसेपासेलाई हेरेरै रमाउनुभयो । पुराना सहयात्री बिर्सनुभयो ।”

‘गणतन्त्र हाम्रा लागि रहेनछ’
सानो दुर्गासहित झापा आन्दोलनमा होमिएका योद्धाले समानताका लागि संघर्ष गरे । निर्दलीय व्यवस्थाको अन्त्य हुँदै बहुदल आयो । गणतन्त्र पनि स्थापना भयो । तर, देशबाट सामन्तवाद अन्त्य नभएको बुझाइ छ उनको ।

“पञ्चायतमा आर्थिक अनियमितताका घटना कम हुन्थे, जति गणतन्त्र स्थापनापछि भएका छन् । देशमा गणतन्त्र त आयो । तर, नेताका लागि आयो । जनताका लागि आएन । सत्तामा पुग्नेको शैली अहिले पनि सामन्तवादी छ”, उनी भन्छन् ।
असमान व्यवस्था ढाल्न लडेका उनलाई अहिलेको व्यवस्था देखेर झन् वितृष्णा हुन्छ ।

“के अहिलेकै अवस्थाका लागि साथीहरूले ज्यान दिएका हुन् ?”, उनी सोध्छन्, “गणतन्त्र र समानताका लागि लडेको मजस्तो योद्धाले बिहान-बेलुका के खाने भन्ने चिन्ता लिनुपर्ने अवस्था छ । समानता र न्यायका लागि जेल बस्नेको अवस्था नै अहिले नाजुक छ । खै गणतन्त्र कहाँ आयो ? हामीले कल्पना गरेको गणतन्त्र त यस्तो थिएन । सबैलाई गाँस, बास र कपासको व्यवस्था हुने गरीको गणतन्त्र परिकल्पना गरेका थियौँ । म यहाँ सुकुम्बासी बस्तीमा छु । अन्त कतै एक मुठ्ठी माटो पनि छैन । मेरो लुगा फेरिएको छैन । मेरो भान्सामा बिहान-बेलुका के खाने भन्ने चिन्ता हुन्छ । नेताहरूको घरमा दिनमा कति खाना पाक्छ ? कस्तो परिकार पाक्छ ? हामी पनि मान्छे हौँ । हामीले खान पर्दैन ?”

जेल जीवनका समयमा भोगेको यातनाले कमजोर भएको शरीरले उपचार खोज्छ । तर उनीसँग उपचार गर्ने पैसा छैन ।

जीवनको उत्ताराद्र्धमा गत असारमा उनको पक्की घर बनेको छ । झापा क्षेत्र नम्बर १ का सांसद सुरेन्द्रकुमार कार्कीले स्थानीय विकास साझेदारी कार्यक्रममार्फत उनको घर मर्मतका लागि बजेट छुट्याएका हुन् । उनको घरका लागि तीन लाख १६ हजार रकम नगरपालिकामार्फत खर्च गरिएको थियो ।

“पहिला जसोतसो इँट्टा जोडेर घर बनाएको थिएँ । झ्याल ढोका थिएन । अहिले झ्याल ढोका लगाएर इँट्टा बाहिर सिमेन्टले प्लास्टर गरेर रंग लगाइएको छ”, उनी भन्छन्, “ट्वाइलेट बाथरुम पनि बनेको छ । अहिले त धेरै सजिलो भएको छ । तर, घर मात्र भएर पनि नहुने रहेछ । खान पनि त पर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved