यूसीजीएलको आठौं सम्मेलन सम्पन्न

अन्तरदेशीय सहकार्यमा जोड

नेपालभ्युज

यूसीजीएलको आठौं सम्मेलन सम्पन्न

काठमाडौं। कोभिड-१९ संक्रमण लगायतका महामारीमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिका लगायतका प्रस्ताव पारित गर्दै ‘यूनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट’ (यूसीजीएल)को आठौं सम्मेलन सम्पन्न भएको छ।

कोरोना जस्ता संक्रमण रोकथाममा स्थानीय निकायको जिम्मेवारी महत्वपूर्ण हुने सम्मेलनको निष्कर्ष छ। सम्मेलनले संक्रमण न्यूनीकरणका लागि सबै तहका सरकारबीच हातेमालो गर्दै अन्तरदेशीय सहकार्य औल्याएको छ। स्थानीय सरकार र शहरहरुको दीर्घकालीन विकासका लागि अन्तर देशीय शहर र स्थानीय सरकारले खेल्नुपर्ने भूमिकाबारे यूसीजीएल मुलुकका स्थानीय सरकार प्रमुखहरुले भर्चुअल रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए।

तीन दिने सम्मेलन बिहीबार सम्पन्न भएको हो। यूसीजीएल विश्वभरका दुई लाख ४० हजार भन्दा बढी नगरपालिका र शहरहरुको साझा संस्था हो। नेपाल गत वर्षदेखि यूसीजीएलको अध्यक्ष राष्ट्रको भूमिकामा छ। इण्डोनेसियाको जाकार्तामा मुख्यालय रहेको यूसीजीएलका एसिया प्रशान्त क्षेत्रबाट सात हजार बढी शहर सदस्य छन्।

अहिलेको सम्मेलन एसिया प्रशान्त क्षेत्रको हो। सम्मेलनले आगामी विश्व सम्मेलन, आर्थिक तथा कोरोनाको महामारीबाट छुटकारा पाउन स्थानीय सरकारको भूमिका लगायतका प्रस्ताव पारित गरेको अध्यक्ष अशोककुमार ब्याञ्जुले जानकारी दिए। साथै शहरलाई सुन्दर, शिक्षित र स्मार्ट बनाउन लागि आवश्यक पर्ने प्रविधि र अन्य स्रोत साधन बारेमा पनि छलफल भएको उनले बताए। नेपालको संस्कृति र शहरी विकासको अवधारणबारे विश्वभर चिनाउन आठौं सम्मेलन महत्वपूर्ण रहेको ब्याञ्जुको भनाइ छ।

काठमाडौं महानगर, वीरगन्ज महानगर, धरान उपमहानगर, धुलिखेल लगायतका स्थानीय तह यूसीजीएलका सदस्य शहर हुन्। चीन, भारत, पाकिस्तान, जापान, दक्षिण कोरिया, इण्डोनेसियालगायतका मुलुक सदस्य छन्। इण्डोनेसिया महासचिवको भूमिकामा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved