युवा संघको कार्यक्रममा ओलीले बोलेको झुट

ओलीले अफ्रिकामा लिलिपुट नाम गरेको एक सानो मानव जाति रहेको दाबी गरेका छन्। तर लिलिपुट नाम गरेको सानो मानव जाति संसारको कुनै पनि कुनामा छैन। लिलिपुट कुनै जातिको नाम नभई अंग्रेजीभाषी साहित्यकार जोनाथन स्विफ्टले लेखेको चर्चित उपन्यास ‘गलिभर्स ट्राभल्स्’ मा उल्लेख गरिएको एक काल्पनिक टापुको नाम हो।

नेपालभ्युज

युवा संघको कार्यक्रममा ओलीले बोलेको झुट
फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय संगठन विभागले गत भाद्र २१ गते आयोजना गरेको बृहत युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारबारे विभिन्न टीकाटिप्पणी गरे।

हालै मात्रै एमालेबाट अलग भएका माओवादी र माधव नेपाल पक्षप्रति लक्षित गर्दै उनले तिनलाई अफ्रिकाका सानो मानव जातिको संज्ञा दिएका छन्।

उनले भनेका छन्, “एउटा जाति हुन्छ, अफ्रिकामा लिलिपुट भन्ने, सानो। उनीहरूको प्रजनन उमेर भनेको सात रआठ वर्षमा हुन्छ। १५ वर्ष सम्ममा उनीहरू बुढापाका भइसक्छन्। प्रजनन उमेर सिद्धिन्छ। र २० देखि बढी बाँचे हाम्रो सय वर्ष नाघेकोमा खुशी हुन्छौं नि, त्यस्तै २५ वर्ष कोही पुग्यो भने उद्धुम हो, नत्र २० वर्षमा बितिसक्छ। त्यस्तो एउटा सानो जाति हुन्छ, बेग्लै खालको। लिलिपुट भन्छन्।”

साउथ एशिया चेकले ओलीको यो दाबी कति सत्य छ भनी जाँच गरेको छ।

ओलीले अफ्रिकामा लिलिपुट नाम गरेको एक सानो मानव जाति रहेको दाबी गरेका छन्। तर लिलिपुट नाम गरेको सानो मानव जाति संसारको कुनै पनि कुनामा छैन। लिलिपुट कुनै जातिको नाम नभई अंग्रेजीभाषी साहित्यकार जोनाथन स्विफ्टले लेखेको चर्चित उपन्यास ‘गलिभर्स ट्राभल्स्’ मा उल्लेख गरिएको एक काल्पनिक टापुको नाम हो।

१८ औं शताब्दीमा प्रकाशित उपन्यासमा प्रमुख पात्र लमियुल गलिभर नामक डाक्टरले गरेको यात्रामा भएका घटनाहरू समेटिएको छ। उक्त उपन्यासमा ती पात्रले विभिन्न ठाउँहरूको यात्रा गरेका चित्रण गरिएको छ।

तिनै ठाउँहरूमध्ये गलिभरले यात्रा गरेको पहिलो टापुको नाम हो लिलिपुट। त्यो काल्पनिक टापु एकदमै सानो रहेको र त्यहाँ बसोबास गर्ने मानिसहरूको उचाइ ६ इन्च मात्र हुने उपन्यासमा उल्लेख छ।

लेखकले लिलिपुटमा बस्ने ती साना मानिसहरूलाई लिलिपुटियन्स नाम दिएका छन्। बेलायतको ‘द गार्डियन’ समाचारपत्रमा सन् २०१३ मा प्रकाशित एक लेखमा गलिभर्स ट्राभल्स्लाई विश्वका उत्कृष्ट १०० उपन्यासमध्ये एक मानिएको थियो।

लेखकले उक्त उपन्यासमा लिलिपुटियनको शारीरिक विशेषताबारे केही उल्लेख गरेका छैनन्। तर उनीहरूलाई चलाख, स्वार्थी र हिंसात्मक मान्छेको रूपमा वर्णन गरेका छन्। उनले लिलिपुटको छिमेकी शत्रुको रूपमा अर्को सानो टापु ‘ब्लाफुस्कु’ को कल्पना गरेका छन्, जस्मा बसोबास गर्ने साना मानिसहरूलाई ‘ब्लाफुस्कुडियन्स’ नाम दिइएको छ।

संसारभरि लिलिपुट नामको कुनै पनि जाति नरहेको र यो शब्द मात्र काल्पनिक रुपमा लेखकले आफ्नो उपन्यासमा प्रयोग गरेको पाइएको छ।

हामीले यस विषयमा थप खोजी गर्दा ओलीले उल्लेख गरेको विवरण अफ्रिका र एसियामा बस्ने ‘पिग्मीज’ नामक एक मानव जातिसँग मेल खाएको पाइयो। शिकार गर्ने यी जाति सामान्यतया पाँच फिट अग्ला हुन्छन्। इन्साइक्लोपेडिया ब्रिटानिकाको अनलाइन संस्करणका अनुसार सबैभन्दा प्रख्यात पिग्मी समूह अफ्रिकामा भूमध्य रेखाको दायाँबायाँ बस्दछन्।

पिग्मीज भनेर मुख्यतः यी समूहलाई चिनिन्छ। तिनीहरू क्यामेरुन, रुवाण्डा, बुरुन्डी, कंगोजस्ता मध्य र पश्चिम अफ्रिकी मुलुकका जंगलमा बस्छन्। तिनीहरूको जनसंख्या १ लाख २० हजार भएको अनुमान छ। एशियामा पिग्मीज नेग्रिटोसको नामले चिनिन्छ।

पिग्मीजहरूको औसत आयु १६ देखि २४ वर्षको हुने गर्दछ। औसत आयु कम भएकै कारण उनीहरू चाँडै यौवनावस्थामा प्रवेश गर्दछन्।

ओलीले आफ्नो भाषणमा साना मानिस भनी पिग्मीजबारे उल्लेख गरेका हुन सक्छन्। तर अफ्रिकामा रहेका साना मानव जातिलाई लिलीपुट भनिन्छ भन्ने उनको दाबी गलत छ। किनकि लिलीपुट एक काल्पनिक टापु हो। ओलीले गरेको दाबी पिग्मीजको जैविक विशेषतासँग भने मिल्दोजुल्दो पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved