हरितालिका विशेष

‘पहिलेभन्दा त आजभोलिकै तीज रमाइलो’

‘पहिला कामै काम भन्थे । तीजको दिनमा पनि घाँस काटेर ल्याएपछि मात्र टाढाटाढा नाँच हेर्न गइन्थ्यो, त्यतिबेला खुलेर नाच्न पनि नपाइने। नाच्यो भने बाआमाले गाली गर्थे। तर अहिले त्यस्तो छैन्, घरघरै तीजका गीत लगाउँदै मन खोलेर नाच्न पाउँछन्।’

‘पहिलेभन्दा त आजभोलिकै तीज रमाइलो’

‘पहिले हाम्रो पालाको तीजभन्दा त अहिलेकै तीज रमाइलो लाग्छ मलाई । सबैजना एकै ठाउँमा भेला भएर नाचगान गर्छन्। विभिन्न परिकारका खाने कुराहरु खाँदै, हरेक दिन पालैपालो सबैका घरमा दर खाने गर्छन्।’

यो भनाइ हो बर्दियाकी ७६ वर्षीया नरपति केसीको । उनलाई आफू जवान हुने समयको भन्दा अहिले तीज निकै रमाइलो लाग्छ । नरपतिका अनुसार पहिलेका मान्छेभन्दा अहिलेका मान्छेहरुले धेरै रमाइलो गर्न जानेका छन्।

पहिले पहिले वर्षभर छोरी चेलीले घरमा काम गरेर थकाइ मार्न र बाआमासँग भेट गर्नका लागि मात्र भएपनि तीज आइदियोस् जस्तो लाग्थ्यो नरपतिलाई । वर्षदिनमा एकपटक तीजमा सबै दिदीबहिनी भेला भएर दुःख सुख साँट्दै दर खाने गरेको सम्झँदा उनको अनुहारमा खुशीभाव झल्केको देखिन्थ्यो ।

घर व्यवहारमा परेपछि पहिला कामै काम मात्रै हुने गरेको सम्झँदै तीजको दिनमा पनि खुलेर रम्न नपाएको सम्झिन् नरपतिले । उनले आफ्नो सम्झनामा रहेका तीजका पुराना कुराहरु सम्झँदै भनिन्, ‘पहिला कामै काम भन्थे । तीजको दिनमा पनि घाँस काटेर ल्याएपछि मात्र टाढाटाढा नाँच हेर्न गइन्थ्यो, त्यतिबेला खुलेर नाच्न पनि नपाइने। नाच्यो भने बाआमाले गाली गर्थे। तर अहिले त्यस्तो छैन्, घरघरै तीजका गीत लगाउँदै मन खोलेर नाच्न पाउँछन्।’

तर, अहिलेको तीज रमाइलो लाग्ने भए पनि तीजका गीतसँग भने उनको गुनासो छ । आजकलको तीज गीतले पहिलेका गीतले जस्तोगरी पर्वको मौलिकता कायम राख्न नसकेको उनी बताउँछिन् । पहिलेका गीतहरु सम्झँदै उनले भनिन्, ‘केही केही त पहिलेकै चलन पनि राम्रा नै थिए। गीतहरु राम्रा थिए, अहिलेका गीतहरु त बुझिदैनन्।’

हरितालिका (तीज) व्रतको तयारी स्वरुप तीजको दुई तीन दिन पहिलेबाट नै दर खाने गरिन्छ। तर नेपाली संस्कृतिअनुसार भने तीजको अघिल्लो रात दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा परापूर्वकालदेखि चल्दै आएको होे। तर आजभोलि भने त्यो परम्परासँगै साथीभाइहरुको टोली बनाएर दर पार्टी गर्ने प्रचलन बढेको छ ।

यसमा नरपतिको पनि दुःखेसो छ । उनलाई दर भनेर तीज नआउँदै पार्टी प्यालेसमा गएर रक्सी खाएको भने मन परेको छैन । उनले पहिलेको दर खाने चलन स्मरण गर्दै भनिन्, ‘‘पहिले दर भनेर प्रायः खीर र घ्यू हालेको खाजेभात खाने गरिन्थ्यो भने अहिले धेरै प्रकारका खाने कुराहरु खाने चलन आएको छ ।”

पछिल्लो समय तीज आउनुभन्दा पहिलेदेखि नै दर भन्दै पार्टी प्यालेसहरुमा जमघट गर्ने क्रममा तीव्र वृद्धि भएको छ । तीज भन्दै जथाभावी गीत गाउने, नाच्ने जस्ता क्रियाकलापहरुलाई केहीले विकृति भित्रिएको उपमा पनि दिएका छन्।

तर समाजशास्त्री तथा मानवशास्त्री विष्णु दाहालको नजरमा भने यो विकृति होइन । समाज परिर्वनशील हुने भएकाले त्यही समाजमा मनाउने चाडपर्व र सामाजिक रीतिरिवाज पनि बदलिँदै जाने उनको भनाइ छ । उनी प्रश्न गर्छन्, ‘‘समाज परिवर्तन हुँदा त्यसलाई कुरीति नमान्ने तर संस्कृति बदलिँदा भने कुरीति मान्ने?”

समाजमा परिवर्तन आएसँगै तीज जस्ता पर्वहरुमा पनि परिवर्तन आएको सबैले बुझ्न धेरै आवश्यक रहेको दाहालले बताए । कसैले पनि समाज बदलिएको अनुभूति गर्न नसकेको तर वर्षमा एकपटक वा दुई पटक आउने चाडपर्वलाई यसले त कुरीति नै ल्यायो भन्दै हिँड्ने गरेको दाहालको अनुभव छ ।

दाहाल भन्छन्, ‘‘पहिले पहिले मानिसहरु खेतिकिसानी मै सीमित हुन्थे भने अहिले देशविदेश जान थालेका छन्।’ देशविदेश चहारेका व्यक्तिले विभिन्न संस्कृति देखेका कारण समाजका धेरै पक्षहरु बदलिएको उनको भनाइ छ। चाडपर्व मनाउने तरिकासँगै हरेक कुरामा परिवर्तन आइरहेको पनि उनले बताए ।

पहिले पहिलेका तीजका गीतमा महिलाहरुले बढी मात्रामा उत्पीडनका व्यथाहरु धेरै गाउने गर्दथे। किनकि, त्यस समयमा समाजमा महिलाहरु अत्यधिक दबिएका थिए तर अहिले त्यस्तो नभएको दाहाल बताउँछन् । अहिले साक्षर र सक्षम बन्दै गरेका महिला पुरुषमा समानताको भाव देखिने गरेको र अधिकांश व्यक्तिमा दुवै एक रथका बारबरी पांग्रा बनिसकेको समाजमा देखिने गरेको उनको बुझाइ छ।

दाहाल भन्छन्, ‘‘पहिले महिलाहरुले घर चलाउँथे । पुरुष कमाउन जान्थे तर अहिले महिला पनि कमाउनका लागि विदेशसम्म पनि पुगेका छन् । यी सबै पक्षमा परिवर्तन भएसँगै तीज पनि फेरिएको हो। यो सबै परिवर्तन स्वभाविक नै हो। यसलाई मान्दै गयो भने सांस्कृतिक रुपमा पनि परिवर्तन हुँदै जाने उनको भनाइ छ ।

फेरिएका सबै कुरा राम्रा मात्रै नहुनेमा भने दाहालको पनि मतैक्य छ। तर, तीज मनाउने प्रचलन फेरिएकै आधारमा महिलाहरु भड्किला बनेको कथ्यमा भने उनको असहमति छ । उनको प्रश्न छ, ‘‘तीजमा मात्र नभएर जाँडरक्सी त अरुबेला पनि खान्छन्, त्यसलाई के भन्ने ?”

दाहालले एक महिना पहिलेदेखि जाँडरक्सी खाने तथा पार्टी प्यालेसमा तीज छ भन्दै जाने प्रचलन सबै ठाउँमा नभएको भन्दै यसले सिंगो देशको प्रतिनिधित्व नगर्ने बताए। हरेक कुराको राम्रो र नराम्रो दुवै प्रभाव रहने भन्दै उनले संस्कृृति परिवर्तनसँगै महिलाहरुले आफ्नो क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिए।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved