अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल

घरेलु मैदानमा बंगलादेशको सामना गर्दै नेपाल

प्रशिक्षक ग्यारी फिलिप्सले भनेका छन्, “यस्तो माहामारीमा अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु ठूलो कुरा हो, चोटका कारण केही राम्रा खेलाडी बाहिरिए, तर अहिले टिम राम्रो फर्ममा छ।”

नेपालभ्युज

घरेलु मैदानमा बंगलादेशको सामना गर्दै नेपाल
फाइल तस्वीर

काठमाडौं। नेपाली राष्टिय महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ। खेल दशरथ रंगशालामा हुनेछ ।

महिला फुटबल टिम अर्को हप्ता उज्वेकिस्तानमा हुने एएफसी महिला एसिएन कप फुटबल २०२२ को छनोट प्रतियागिता खेल्ने तयारीमा छ। सो प्रतियागिताको तयारीस्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशी महिला फुटबल टिमलाई मैत्रीपूर्ण खेलको लागि बोलाएको हो।

नेपालले केही युवा खेलाडीलाई मौका दिँदै २३ सदस्यीय टिम घोषणा गरिसकेको छ। जसमा ७ खेलाडीले पहिलो पटक राष्टिय टिममा स्थान बनाएका छन्। नेपाली महिला टिम गत ६ सातादेखि एशिएन कप छनोट प्रतियागिताको तयारीमा छ।

खेलअघि बुधबार नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले भनेका छन्, “यस्तो माहामारीमा अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु ठूलो कुरा हो, चोटका कारण केही राम्रा खेलाडी बाहिरिए, तर अहिले टिम राम्रो फर्ममा छ।”

दशरथ रंगशालामा हुने खेलमा नेपाली टिम आफ्नो स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना मैदानमा उत्रँदै छ। सावित्रा हाल घुँडाको चोटको उपचारका लागि कतारमा छिन्। शल्यक्रियापछि कतार हस्पिटलमा आराम गरिरहेकी सावित्रा यो टिममा उपलब्ध हुन सकिनन्। साम्बा पूर्ण रूपमा ठीक हुन अझ केही समय लाग्ने बताइएको छ।

साम्बा नेपालकी मात्र होइन दक्षिण एसियाकै उत्कृष्ट महिला स्ट्राइकर हुन्। सन् २०१४ मा डेब्यू गरेयता राष्ट्रिय फुटबल टिमबाट उनले ३४ खेलमा ३८ गोल गरेकी छन्। सन् २०१६ को साफ महिला च्याम्पियनसिपमा साम्बा एक्लैले भुटान र माल्दिभ्सविरुद्ध दोहोरो ह्याट्रिक (६ गोल) गरेकी थिइन्।

उनलाई मेस्सीसँग तुलना गर्दै नेपालका प्रशिक्षक फिलिप्स भन्छन्, “साम्बा टिममा नहुनु हाम्रो लागि ठूलो क्षति हो। जस्तो मेस्सीबिना अर्जेन्टिना र मार्ताबिना ब्राजिलको महिला फुटबल टिम हुन्छ, उनको अभाव त्यस्तै खड्किन्छ।” फिलिप्सले थपे, “तर यो ग्रुप गेम हो, उनको पोजिसन अर्का खेलाडीले सम्हाल्छन्।”

उता बंगलादेशको टिममा पनि युवा खेलाडी नै बढी छन्। “हाम्रो टिममा प्रायः खेलाडी १६ देखि १८ उमेर समूहका छन्। जसमध्ये ८ खेलाडी बंगलादेशका उत्कृष्ट खेलाडी हुन्। हाम्रो तयारी राम्रो छ, नेपालसँग प्रतिस्पर्धात्मक खेल हुने आशा छ”, बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोतानले बताए।

प्रशिक्षक छोतानले दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित साम्बा नहुनु आफ्ना डिफेन्डरका लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए। नेपाल एएफसी महिला एशिएन कप फुटबल २०२२ को छनोट प्रतियागिताको समूह एफमा छ।

समूह ‘एफ’मा नेपालसहित फिलिपिन्स र हङकङ छन्। यो छनोट प्रतियागिताका समूह एफका खेलहरू नेपालमै हुने तय भएको थियो। तर कोभिडका कारण एएफसीले समूह एफका छनोट खेलहरू उज्वेकिस्तानमा सारेको हो।

छनोट प्रतियागितामा नेपालले आउँदो असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेश एएफसी महिला एशिएन कप फुटबल २०२२ को छनोट प्रतियागिता खेल्ने तयारीमा छ। समूह ‘जी’मा रहेको बंगलादेशले भने जोर्डन र इरानसँग छनोट खेल खेल्नेछ।

आठ समूह रहेको छनोट प्रतियागितामा प्रत्येक समूहका विजेताले अर्को वर्ष भारतमा हुने एएफसी महिला एशिएन कप फुटबल २०२२ मा स्थान पक्का गर्नेछन्। १२ टिम सहभागी प्रतियागितामा ४ टिम छनोट भइसकेका छन्।

नेपाली महिला राष्ट्रिय फुटबल टिमले तीन पटक एशिएन कप फुटबल प्रतियागिता खेलिसकेको छ। सन् २००० अगाडि खेलिएका ती सबै खेलमा नेपालको यात्रा समूह चरणसम्मको मात्र थियो।

प्रशिक्षक फिलिप्स भन्छन्, ‘मसँग मजबुत २३ खेलाडी छन्, राम्रो प्रदर्शन गर्छाैँ’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved