गोर्खा सैनिकको पेन्सन वृद्धि गर्न बेलायत लचक

यही महीना वार्ता गर्न बेलायत तयार

नेपालभ्युज

काठमाडौं। भूतपूर्व गोर्खा सैनिकहरुको निवृत्तिभरण (पेन्सन) वृद्धि गर्न बेलायत सरकार लचक भएको छ। बेलायती रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघलाई पत्र लेख्दै ‘पेन्सन स्किम’अनुसार भूपु गोर्खा सैनिकको पेन्सन वृद्धि गर्ने जनाएको हो।

पत्रमा भनिएको छ, “गोर्खा भेट्रान्सको सुविधा वृद्धि गर्न बेलायत सरकार तयार छ, त्यसका लागि बेलायत सरकारले यही सेप्टेम्बर महीनामा छलफलको आयोजना गर्दैछ।” यसअघि ब्रिटिस गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न गर्न जोन्सनलाई पत्रमार्फत ध्यानाकर्षण गराइएको थियो।

गैर आवासीय नेपाली संघ (एनआरएन) युकेका अध्यक्ष सन्ता गाहामगरले गत साउन १७ गते बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका थिए। अध्यक्ष मगरलाई सम्बोधन गर्दै रक्षा मन्त्रालयले पत्रको जवाफ पठाएको छ। गोर्खालीहरुको मागप्रति लचक हुँदै बेलायती रक्षा मन्त्रालयले मंगलबार उक्त पत्रको जवाफ पठाएको हो।

सेवा सुविधाको विभेद हटाउन ध्यानाकर्षण गर्दै भूतपूर्व गोर्खा सैनिकहरुले पटक-पटक आन्दोलन गर्दै आएका छन्। भेदभाव नरोकिएको भन्दै यसपटक गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा भूतपूर्व गोर्खा सैनिकले रिले भोक हडताल गरेका थिए। प्रधानमन्त्रीको कार्यालय नजिकै उनीहरू अनशन बसेका थिए।

सन् १९४७ मा भारत बेलायती शासनबाट स्वतन्त्र भएपछि नेपाल, भारत र बेलायतबीच गोर्खा सैनिक भर्तीको बाटो खुलेको थियो। त्यसपछि नेपालीहरु बेलायत र भारती सेनामा गोर्खा हुन थालेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved