कारबाहीमा परेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने एमालेको चेतावनी

नेपालभ्युज

कारबाहीमा परेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने एमालेको चेतावनी

काठमाडौं। नेकपा एमालेले संघीय संसदको बैठक सञ्चालन हुन नदिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले चिक्त बुझ्दो जवाफ नदिएसम्म संसद चल्न नदिने एमालेले बताएको हो।

एमाले संसदीय दलको बैठकमा बाेल्दै अध्यक्ष केपी शर्मा अ‍ोलीले आफूले कारबाही गरेका सांसद संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नसक्ने चेतावनी दिए। उनले आफूहरुले कारबाही गरेका सांसद बैठकमा उपस्थित भए एमाले सदनको बैठकमा नबस्ने बताए।

एमालेले कारबाही गरेका १४ जना गैरसांसद रहेको भन्दै अध्यक्ष तथा दलका नेता ओलीले ती सांसद बैठकमा उपस्थित हुन संसद् नियमावलीले पनि नदिने बताए। ओलीले भने, ‘‘गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानुनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन। संसद्को नियमावलीले पनि त्यो दिँदैन।”

ओलीले यदि संसद् बैठमा १४ सांसद उपस्थित भए यसअघि माओवादी केन्द्रले कारबाही गरेका सांसदहरुलाई पनि बैठकमा उपस्थित हुन दिनुपर्ने तर्क गरे। एमालेमा बसेर पद गुमाएका पूर्वमाओवादी सांसदलाई फर्काउनुपर्ने भन्दै ओलीले भने, ‘‘त्यसो हो भने पहिले निकालिएका सांसदहरूलाई हाजिर गर्नुप¥यो।”

बुधबार अपरान्ह ४ बजेदेखि संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन प्रारम्भ हुँदैछ। आफ्नो पार्टीले कारबाही गरेका सांसदहरुलार्ई सभामुखले सदर नगरेकोले सभामुखसँग जवाफ माग गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिए।

भट्टराईले नेपाल भ्यूजसँग भने, ‘‘हाम्रो दलको साउन २५ गतेको पार्टी निर्णयबाट १४ सांसद कारबाहीमा परेका छन्। कारबाहीमा परेका सांसद संसद बैठकमा आए भने उनीहरुमाथि किन कारबाही भएन भनेर हामी सभामुखसँग जवाफ माग गर्नेछौँ। चित्त बझु्दो जवाफ नआए हामी संसद चल्न दिँदैनौँ।’’

सभामुखले आफ्नो पार्टीले कारबाही गरेका सांसदको लोगो खोस्नुपर्ने भट्टराईले बताए। गैरसांसदलाई संसदमा प्रवेश दिएमा संसद चल्न नदिने विषयमा अहिले छलफल चलिरहेको उनले बताए।

प्रमुख सचेतक भट्टराईले भने, ‘‘संसदीय दलको बैठकपछि फेरि अहिले हामी सुवास नेम्वाङलगायत पार्टीका सांसदसँग परामर्शमा छौँ, हाम्रो पार्टीले कारबाही गरेकालाई संसदमा प्रवेश दिएमा संसद चल्न दिँदैनौँ।”

एमालेले साउन २५ गतेको पार्टी निर्णयबाट माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको थियो। कारबाहीको सूचना भदौ १ गते सभामुखलाई दिएको थियो। एमालेले सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले प्रकाशित नगरी रोकेर राखेका थिए।

त्यसबीच, दल विभाजनसम्बन्धी अध्यादेशअनुसार कारबाहीमा परेका माधव नेपाल सहितका सांसद सहभागी भएर नयाँ दल गठन भइसकेको छ। एमाले फुटाउन सभामुखले १४ सांसदमाथिको कारबाही रोकेको भन्दै एमालेले जवाफ माग गर्ने जनाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved