किन बारम्बार पार्टी विघटनको कुरा गर्छन् प्रचण्ड?

अध्यक्ष भइकन पनि पुष्पकमल दाहालले बारम्बार आफ्नै पार्टी विभाजनको कुरा गर्छन्। अहिले त्यस्तो चर्चा गर्नुपछाडि दुई उद्देश्य छन्।

नेपालभ्युज

किन बारम्बार पार्टी विघटनको कुरा गर्छन् प्रचण्ड?

काठमाडौं । १७ भदौमा लुम्बिनी प्रदेश कमिटिको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘पार्टी बनाउन नसक्ने हो भने विघटन गर्नुपर्ने’ धारणा राखे।

दाहालले पार्टी विघटनको चर्चा गरेको त्यो पहिलोपटक भने थिएन। उनले अरु प्रदेश कमिटिका बैठकमा पनि पार्टी संगठन प्रभावकारी रूपमा अघि बढ्न नसकेकोमा गुनासो गर्दै आएका छन्।

२ भदौमा रामवृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि उनले ‘यथास्थितिमा रहे पार्टी विघटन र विसर्जनको खतरामा पर्ने डर रहेको’ धारणा राखेका थिए।

एक वर्षअघि १० असार २०७७ मा पनि उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा पनि उनले पार्टी विघटन हुन सक्ने बताएका थिए।

नेकपा (एमाले) सँग पार्टी एकता हुनभन्दा पहिला पनि सार्वजनिक कार्यक्रमहरूमा नै उनले माओवादी विघटनको धारणा राख्ने गरेका थिए।
आखिर किन यसरी दाहालले पार्टी विघटनको चर्चा गर्ने गर्छन्। त्यसका केही कारण छन्।

कारण १, सांगठनिक रूपमा कमजोर बन्दै माओवादी

सशस्त्र संघर्ष हुँदै शान्ति प्रक्रियामा आइपुग्दासम्म तत्कालीन नेकपा (माओवादी)को संगठन केन्द्रदेखि तल्लो तहसम्मै बलियो थियो। त्यसैको जगमा माओवादी पहिलो संविधान सभामा ठूलो दलको रूपमा स्थापित भएको थियो।

त्यसपछि भने माओवादीमा एकपछि अर्को फुट आयो। सांगठनिक रूपमा कमजोर बनेको माओवादीले कुनै बेला झण्डै चार हजार जनाको केन्द्रीय समिति बनाउन बाध्य भएको थियो।

केन्द्रदेखि स्थानीय तहसम्म सांगठनिक संरचना भए पनि पार्टी गतिविधी ठप्प भएकाले पार्टी जीवन्त हुन नसकेको विश्लेषकहरू बताउने गर्छन्। परिणाम, संविधान सभाको दोस्रो निर्वाचनमा माओवादी तेस्रो दल बन्न पुग्यो।

सांगठनिक रूपमा धराशायी हुँदै गएको माओवादीले २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्‍यो। संसदीय निर्वाचनमा नेकपा (एमाले)सँग तालमेल गरेको माओवादीले उसँगै पार्टी एकता गर्‍यो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको दुई वर्ष पुग्दा–नपुग्दै आन्तरिक विवाद चुलीमा पुग्यो। फलस्वरुप ‘नाम जुध्न पुगेकाले नयाँ नाममा पार्टी दर्ता गर्ने’ सर्वोच्च अदालतको आदेश नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पुनस्र्थापनाको कारण बन्न पुग्यो।

एमालेसँगको एकतापछि माओवादीको पूर्ववत् संरचना केन्द्रदेखि तलैसम्म भंग भइसकेको थियो। अहिले पार्टीलाई पुनर्जीवन दिन केन्द्रदेखि तल्लो तहसम्मको सम्मेलनमा माओवादी केन्द्रित भएको छ।

सांगठनिक रूपमा कमजोर बनिरहेको माओवादीमा नेता तथा कार्यकर्ता पार्टी निर्माणमा भन्दा पनि व्यक्तिगत अवसरका लागि केन्द्रित बनेको गुनासो दाहालले गर्न थालेका छन्। पार्टी प्रशिक्षणमा उनले धेरैजसो नेताहरूले आफूलाई मन्त्री बनाउन दबाब दिइरहेको समेत खुलासा गरे।
यसरी सांगठनिक रूपमा पार्टी खस्किरहेकैले दाहालले बारम्बार पार्टी विघटनको चर्चा गर्ने गरेका छन्।

“माओवादीको संगठन निर्माण गर्ने शैली छैन, पार्टीको तलैसम्म संगठन छैन”, राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, “आफूसँग भएको शक्तिले जहाँसम्म पुगिन्छ त्यहीँसम्म पुग्ने र राजनीतिको केन्द्रमा बसिरहने, अप्ठ्यारो परेपछि पार्टी विघटनको कुरा अघि सार्ने दाहालको शैली देखिन्छ।”

कारण २, माधव नेपालसँग पार्टी एकताको संकेत

अहिले आएर दाहालले पुनः पार्टी विघटनको चर्चा गर्नुलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकताको संकेतको रूपमा पनि लिन थालिएको छ।

नेकपामा रहँदा केपी शर्मा ओलीको विपक्षमा उभिएका दुवै नेताहरूको गठबन्धनले नै ओली सरकार छोड्न बाध्य भएका थिए। सो क्रममा निर्माण भएको गठबन्धनलाई दाहाल पार्टी एकतासम्म पुर्‍याउन चाहन्छ।

सांगठनिक रूपमा दुवै दल कमजोर पनि छन्। संसद्मा तेस्रो र चौथो दलको रूपमा रहे पनि सांगठनिक रूपमा दुवै दल व्यवस्थित भइसकेका छैनन्। माओवादी केन्द्र सांगठनिक सुदृढीकरणको क्रममा छ भने नेकपा (एस) नयाँ पार्टी भएकाले केन्द्रदेखि तल्लो तहसम्म संगठन निर्माण गर्नुपर्नेछ।

“स्थानीय, प्रदेश र संघीय निर्वाचन नजिकिदै जाँदा सांगठिनक रूपमा बलियो उपस्थिति जनाउन नसक्ने अवस्था रहेको खण्डमा पनि दुई पार्टी विचको एकता हुन सक्ने देखिन्छ”, विश्लेषक श्याम श्रेष्ठ भन्छन्।

यो अवस्थामा आफ्नो पार्टी विघटनको कुरा गर्दा एकतालाई बल पुग्ने भएकाले दाहालले त्यस्तो कुरा गर्ने गरेका हुन्। तथापी तत्कालै दुई पार्टी एकताको सम्भावना भने कमजोर नै देखिन्छ। यद्यपी दुवै पार्टीले कम्युनिष्ट पार्टीहरूबीच ध्रुवीकरणलाई जोड दिँदै आएका छन्। माओवादी केन्द्रले त स्थायी समिति बैठकबाटै कम्युनिष्ट पार्टीहरू बीच एकताको पहल गर्ने निर्णय नै गरिसकेको छ।

चुनौतीमा दाहाल

कुनै समय थियो, दाहाल नेपाली राजनीतिको केन्द्रमा थिए। सशस्त्र संघर्षको क्रममा प्रचण्ड उपनामले चर्चित उनको रापताप साँच्चै नै प्रचण्ड थियो। तर बिस्तारै उनको राप सेलाउँदै गयो। आफूमा आएको परिवर्तनलाई उनले आफ्नो गतिशील चरित्र रहेको भन्ने गरेका छन्। यी ‘गतिशील चरित्र’का दाहाल आफूलाई राजनीतिको केन्द्रमा राखिरहनुपर्ने चुनौतीमा छन्।

नेकपा (माओवादी केन्द्र) पुनस्र्थापित भएसँगै रक्षात्मक अवस्थामा पुगेका उनी संसद्मा भएका अन्य दलहरूसँग गठबन्धन गरी शक्ति सञ्चय र सन्तुलन निर्माणको प्रयत्नमा छन्। तर उनको मुख्य चुनौती आफू र आफ्नो पार्टीलाई बेग्लै धारको रूपमा स्थापित गर्नु हो।

“नेकपाबाट अलग भएपछि आफूलाई फरक धारको रूपमा स्थापित गर्न सक्छन् कि सक्दैनन् त्यो नै उनको चुनौती हो”, विश्लेषक श्याम श्रेष्ठ भन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved