प्रधानसेनापति थापाले सार्वजनिक गरे अद्यावधिक सम्पत्ति विवरण

नेपाल भ्यूज

प्रधानसेनापति थापाले सार्वजनिक गरे अद्यावधिक सम्पत्ति विवरण

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

लम्जुङ बेँसीशहर नगरपालिका-२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका-२६ लैनचौरमा घरसहित ०-८-३-२ जग्गा पैत्रिक तथा बुढानिलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर जग्गा रहेको छ।

थापाको लम्जुङ बेँसीशहर-२ मा अंशवापत प्राप्त १२-०-२-२ क्षेत्रफल जग्गा, काठमाडौँ महानगरपालिका-२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०-२-०-२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका-२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाको कमाइ आदिबाट खरिद गरिएको ४१६४.५७ वर्गमिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीशहर नपा-२ पैत्रिक १-०-१-३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। बुढानिलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर जग्गा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ।

महारथी थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र १४ लाख रुपैयाँमा खरिद गरिएको औठीसहित हीराको हार छ। उनीहरूसँग घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा २० लाख २२ हजार ३८१ र अमेरकी डलर छ हजार ७० मौज्दात रहेको छ।

प्रधानसेनापति थापा र दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब ४६ लाख रुपैयाँ मूल्य बराबरका २० हजार ४४१ कित्ता सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ।

उनीहरूले नेपाल बैंकबाट एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन ३० लाख ऋण लिएकामा १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ। श्रीमती दीपाको २० लाख र छोरा रौनकको ५१ लाख मूल्यमा खरिद गरिएका एक-एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ।

थापाले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक हुन्। तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आगामी बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved