कांग्रेसमा जुर्मुरायो नयाँ पुस्ता

देशैभरि वडा अधिवेशनहरू भइरहदा केन्द्रीय पदाधिकारीका लागि उम्मेदवारी घोषणाको सिलसिला शुरु भएको हो। गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङलगायत नयाँँ पुस्ताका नेताहरूले यसपाली पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।

नेपालभ्युज

कांग्रेसमा जुर्मुरायो नयाँ पुस्ता

काठमाडौं। नयाँँ नेतृत्वका लागि १४ औं महाधिवेशमा जुटेको नेपाली कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ।

देशैभरि वडा अधिवेशनहरू भइरहँदा केन्द्रीय पदाधिकारीका लागि उम्मेदवारी घोषणाको सिलसिला शुरु भएको हो। गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङलगायत नयाँँ पुस्ताका नेताहरूले यसपालि पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।

आश गरिएका नयाँ पुस्ताका नेताहरूले धमाधम पदाधिकारीमा उम्मेदवारी घोषणा गर्न थालेपछि विगतभन्दा यसपटक महाधिवेशनको रौनकता बेग्लै हुने संकेत देखिएको छ।

१४ भदौमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसदसमेत रहेका गगन थापाले महामन्त्रीको प्रत्यासी हुने कुरा सार्वजनिक गरे। काठमाडौं क्षेत्र नं ४ को एउटा वडास्तरीय कार्यक्रममा उनले महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार हुने बताएका थिए।

थापा कांग्रेसको नयाँ पुस्तामा सबैभन्दा चर्चित र आश गरिएका नेता हुन्। १३ औं महाधिवेशनमा पनि उनी महामन्त्रीका उम्मेदवार भएका थिए र कांग्रेस नेता संशाक कोइरालासँग पराजित भएका थिए। त्यो बेला कृष्ण सिटौला समूहको समर्थनमा उम्मेदवार भएका थापा यसपटक कुन समूहबाट उम्मेदवार हुन्छन्, औपचारिक रुपमा खुलेको छैन। यद्यपि उनी रामचन्द्र पौडेल समूहबाट उम्मेदवार हुने निकटस्थहरू दाबी गर्छन्।

थापाले उम्मेदवारी घोषणा गरेको दुई दिनपछि १६ भदौमा कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति उठ्ने घोषणा गरे। पत्रकार सम्मेलनबाटै उम्मेदवारी घोषणा गरेका गुरुङले आफू कुनै गुटबाट नउठेको र यही गुटको राजनीति अन्त्य गर्ने उद्देश्य बोकेको बताए।

‘‘कांग्रेसभित्र पात्र र प्रवृत्ति दुवै फेरिनुपर्ने भएको छ। धेरै कार्यकर्ताले अन्याय महसुस गरेका छन्। निर्णय प्रक्रियामा पहुँच, असवरको समान वितरण, थप समावेशी र सहभागीतामूलक लोकतन्त्रको अभ्यास गर्न नयाँ अनुहारको नेतृत्व चाहिएको छ’, नेपालभ्यूजसँगको संक्षिप्त कुराकानीमा उनले भने, “पार्टीमा नयाँ संस्कार विकास गर्न सभापतिको उम्मेदवार हुने निधो गरेको हुँ।”

अर्का नेता प्रदीप पौडलले पनि पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्न आफू नेतृत्वमा आउन चाहेको बताए। नेपाली कांग्रेसभित्र क्रियाशील सदस्य छानबिन समितिका प्रवक्तासमेत रहेका पौडलले छिट्टै औपचारिक रूपमै महामन्त्रीको उम्मेदवार हुने घोषणा गर्न लागेको बताए।

“अब दुई दिन जतिमा क्रियाशील सदस्य विवाद सकिन्छ नि, म आफ्ना विस्तृत योजनासहित महामन्त्रीको उम्मेदवार भएको औपचारिक घोषणा गछु”, नेपालभ्यूजसँग मोबाइल संवादमा उनले भने, “कांग्रेसलाई सबै विषयमा प्रस्ट अवधारणा सहितको पार्टी बनाउनु छ। सम्पूर्ण अस्वस्थ्यताको अन्त्य गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्ने लक्ष्यसहित उम्मेदवार हुने लागेको हुँ।” पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार हुन लागेका हुन्।

केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता विश्वप्रकास शर्माले पनि छिटै आफूलाई महामन्त्रीको उम्मेदवारको रूपमा उभ्याउने तयारी गरिरहेका छन्।

शालीन व्यक्तित्व शर्मा कांग्रेसको नयाँ पुस्तामा आश गरिएका अर्का नेता हुन्। भदौ २४ गते बीपी जयन्तीका दिन म महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गर्छु”, बैठकहरूमा व्यस्त रहँदाबीच छोटो मोबाइल कुराकानीमा उनले भने।

नयाँँ पुस्तका नेताहरूको श्रृङ्खलाबद्ध उम्मेदवारीका घोषणालाई कांग्रेसमा सकारात्मक रुपमा लिइएको छ। यद्यपि घोषणासँगै यी नेताहरूले आफ्ना राजनीतिक/वैचारिक कार्यक्रम ल्याउन नसक्नुचाहिँ खट्किएको विषय बनेको छ।

कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि देशैभरका जिल्लाहरूमा वडा अधिवेशन जारी छ। अधिकांश जिल्लाहरूमा अधिवेशन सकिसकेको छ भने कतिपय ठाउँमा अझै भइरहेको छ।

ती जिल्लाहरूमा निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved