जयसिंह धामी मृत्यु प्रकरण

मोदीको पुत्ला जलाएकोमा गृहको आपत्ति, कारबाही गर्ने चेतावनी

मन्त्रालयले आइतबार एक विज्ञप्ति निकाल्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन भएको गम्भीर आपत्ति प्रकट गरेको हो।

नेपालभ्युज

मोदीको पुत्ला जलाएकोमा गृहको आपत्ति, कारबाही गर्ने चेतावनी

काठमाडौं। गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ। मन्त्रालयले आइतबार एक विज्ञप्ति निकाल्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन भएको गम्भीर आपत्ति प्रकट गरेको हो।

मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।” मन्त्रालयले सरकारले सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको पनि बताएको छ।

मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको भन्दै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

मन्त्रालयले अब फेरि त्यस्ता गतिविधि भएमा कानुनी कारबाही गरिने पनि चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘‘मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ।”

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नेपाली युवा नदीमा बेपत्ता भएपछि भारतको विरोधमा काठमाडौंमा प्रदर्शनहरु भइरहेका छन्। यसैबीच, हिजो शनिबार अनेरास्ववियूले मोदीको पुत्ला जलाएपछि गृहले चेतावनी दिँदै विज्ञप्ति निकालेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved