चीनसँग सीमा विवाद छैन:ओली

नेपालभ्युज

चीनसँग सीमा विवाद छैन:ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक चीनसँग सीमा विवाद नभएको दाबी गरेका छन् ।

शनिबार एमाले काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, “चीनसँग सीमा विवाद छैन्, सरकारलाई चुनौती दिएर भन्न चाहान्छु समितिले सीमा विवाद देखाओस्।” सरकारले सीमा विवाद अध्ययन समिति बनाएर कसलाई खुसी पार्न खोजेको हो भन्दै ओलीले प्रश्न समेत गरे।

गत बुधबारको मन्त्रिपरिषद्को बैठकले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाको अवस्था बुझ्न समिति गठन गर्ने निर्णय गरेको थियो। समितिमा गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सीमा विज्ञ, नेपाल प्रहरी र शसस्त्र प्रहरीका अधिकारी सदस्य रहनेछन्।

समितिलाई चीनसँगको सीमा विवाद देखाउन ओलीले चुनौती दिए। उनी नेतृत्वको सरकारले हुम्लामा सीमा विवाद नरहेको निस्कर्ष निकालेको थियो। सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) झुक्याएर संसद्बाट पास गर्न लागेको नेता ओलीको दाबी छ। एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलका अन्य नेताको प्रष्ट धारणा नआएको उनले बताए।

यसैबीच, सरकारले एमसीसीबारेका विवादित विषयबारे प्रष्ट्याउन अमेरिकालाई पत्राचार गरेको छ। शुक्रबार अर्थ मन्त्रालयले नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्र पठाएको हो। नेपाल सरकार र एमसीसी मुख्यालयबीच सन् २०१७मा भएको सम्झौता अनुसार नेपालले सडक र उर्जा पूर्वाधार विकास परियोजनाका लागि ५ सय मिलियन डलर अनुदान पाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved