काठमाडौं। महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाएपछि बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई न्याय दिन सरकार लाचार भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ।
दार्चुलाको व्यास गाउँपालिकाका धामी नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बित्दा पनि घटनालाई ढाकछोप गर्न खोजिएको सो दलको भनाइ छ। सरकारका पक्षबाट सम्वेदनशील घटनाबारे भारतीय पक्षसँग जानकारी लिन सामान्य औपचारिकता र कुटनीतिक पहल समेत भएको सो दलको ठहर छ।
“सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ”, एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। तत्काल घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।
“यस विषयमा छानविन गर्न गठित समितिको म्याद पटक–पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ”, विज्ञप्तिमा भनिएको छ।

Facebook Comment
Comment