भोलि (१८ भदौ) बाट वडा तहको अधिवेशनसँगै देशैभर नेपाली कांग्रेसको १४औं महाधिवेशनको लहर शुरु हुँदै छ। कांग्रेसको यो महाधिवेशनलाई पुरानै समीकरणको निरन्तरता वा नयाँ समीकरणहरूको सिर्जना भनेर चासोपूर्वक हेरिएको छ।
यसैबीचमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको टिमका महत्वपूर्ण सदस्य रहिआएका उपसभापति विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनको अजेण्डा र समग्र कांग्रेसको राजनीतिबारे नवीन झाले गरेको कुराकानी:
१८ भदौ देखि नेपाली कांग्रेसको वडा तहको अधिशेन शुरु गर्ने कार्यतालिका छ। तर दुई बाँकी रहँदा सर्ने पो हो कि भन्ने अन्योल छ, किन ?
निधि : तपाईंले भनेजस्तो केही अन्योल देखिएकै हो। वडा तहको अधिवेशन १८ गतेदेखि गर्ने कार्यतालिका छ। देशमा छ हजार सात सय ४८ वडाहरू छन्। यी वडाहरूमा हामीले एकै दिन अधिवेशन शुरु गर्ने भनिरहेका छौँ। तर त्यसको महत्त्वपूर्ण पक्ष क्रियाशील सदस्यताको टुंगो लगाउनु हो।
झण्डै नौ लाख क्रियाशील सदस्य यस पटकको १४ औ महाधिवेशनमा भाग लिँदै छन्। त्यति धेरै सदस्यहरूको सूचीलाई अन्तिम रूप दिनु आफैँमा जटिल काम हो। अहिलेसम्म ५६ वटा जिल्लाको मात्रै क्रियाशील सदस्यताको काम सकिएको छ। यी जिल्लाहरूको अधिवेशन १८ गतै नै शुरु हुन्छ। बाँकी जिल्लाहरूको पनि १९, २०, २१ र २२ गते गर्ने हाम्रो समझदारी छ। त्यही भएर १८ गते जहाँ सम्भव हुन्छ त्यहाँ अधिवेशन शुरु हुन्छ।
तपाईं यसो भन्नुहुन्छ तर कांग्रेसको १४ औं महाधिवेशन नै पटक-पटक सरेको छ। यसपटक पनि महाधिवेशनको कार्यतालिका प्रभावित हुँदैन भन्ने के ग्यारेन्टी छ र ?
निधि : मंसिरको कार्यतालिका अब सर्दैैन। एउटै कुरा पटक पटक दोहोर्याए के भन्नुु ? नेपाली कांग्रेसको विधान अनुसार चार वर्षमा महाधिवेशन गर्ने प्रावधान छ। त्यो समयमा नसकिए एक वर्ष थप्न सक्ने प्रावधान छ। र त्यसमा पनि नसकिए थप छ महिना थप्न सकिन्छ। फेरि नेपालको संविधानले पनि निर्धारित समयमा महाधिवेशन गर्न नसकिए थप छ महिना समय थप्न सकिने सुविधा दिएको छ। त्यो सबै गरेर हामीले आउँदो मंसिरमा महाधिवेशन गर्न लागेका छौ। यसमा तलमाथि हुँदैन।
अघिल्लो हप्ता तपाईंले कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। सभापतिमा तपाईंको उम्मेदवारी किन ?
निधि : हाम्रो १४ औं महाधिवेशनको एक, डेढ वर्षभित्र तीन तहको आम निर्वाचन हुँदै छ। म सभापति भएँ भने कांग्रेसलाई तीन तहको निर्वाचनमा पहिलो पार्टी बनाउने छु। साढे तीन वर्ष अगाडिको निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन। हामीले बहुमत मात्रै ल्याउन सकेनौं भन्ने होइन। हामीले साह्रै थोरै सख्यामा जित्याैं। नेपाली कांग्रेस र रूख चिह्नलाई कसरी पहिलो पार्टी बनाउने भन्नेमै केन्द्रित हुन म सभापति बन्न चाहेको हो। अरू मेरो कुनै उद्देश्य होइन।
तपाईंले ४० वर्ष भन्दा बढी सहकार्य गरेका शेरबहादुर देउवासँग आफ्नो सहकार्यचाहिँ किन तोड्नुभयो ?
निधि : होइन। मैले कसैसँग पनि सहकार्य तोडेको कुरा नै गलत हो। अहिले पनि हामी सबै एकै ठाउँमा छौं। हामी सबै जना एउटै पार्टीमा छौं। सभापतिको म उम्मेदवार भए भन्दैमा हाम्रा नेतासँगको मेरो सहकार्य वा सम्बन्ध नै टुट्यो भन्ने होइन। १३ औं महाधिवेशनमा तीन जना सभापतिको उम्मेदवार हुनुहुन्थयो। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला।
तर देउवाजीले मात्रै मात्रै जित्नुभयो। के देउवा, पौडेल र सिटौलाजीको अहिले पार्टीमा सहकार्य नै छैन ? नेपाली कांग्रेसको विधानले वडादेखि केन्द्रसम्मका सभापतिहरू निर्वाचनमार्फत छान्ने व्यवस्था गरेको छ। विधानको व्यवस्थाअनुसार योग्य उमेदवारले उम्मेदवारी दिनु लोकतान्त्रिक अभ्यास हो। निर्वाचनमार्फत नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र थप बलियो हुने भएकाले यसलाई कसैले कसैसँगको सहकार्य तोडेको रुपमा अर्थ्याउनु हुँदैन।
सभापतिको उम्मेदवारी घोषणा गरेपछि प्रधानमन्त्री देउवासँग तपाईंको भेट भएको छ कि छैन ?
निधि : १५ गते पनि म प्रधानमन्त्रीसँग भेट्न बालुवाटार गएको थिएँ। साँझभर हामी सँगै बसेका थियौँ। म तपाईंमार्फत यो पनि भन्न चाहन्छु, उम्मेदवार हुुनेबित्तिकै कसैसँग छलफल नहुने वा सम्बन्ध बिग्रने हुँदैन।
प्रधानमन्त्री देउवासँग भेट्दा तपाईंले घोषणा गरेको सभापतिको उम्मेदवारीबारे चर्चा भयो कि भएन ?
निधि : भएन। सभापतिको उम्मेदवार भए पछि म आफ्नै लागि काम गरिरहेको छुु।
तपाईंले यो बीचमा कांग्रेस महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहसँग पनि विभिन्न चरणको संवाद गर्नुभयो। १४ औं महाधिवेशनमा के कांग्रेसको आन्तरिक समीकरणहरूमा व्यापक फेरबदल हुन लागेको हो ?
निधि : पार्टीको आन्तरिक समीकरणलाई मिडियाले अनावश्यक रूपमा महत्व दिइरहेको छ जस्तो मलाई लाग्छ। मेरो कुरा भन्नुुहुन्छ भने, सबै नेतासँगको छलफलपछि नै मैले सभापतिको उम्मेदवारी दिने निर्णय लिएको हुँ। वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र स्वयं सभापतिजी सँग मैले छलफल गरेको छु। शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहसँग पनि सभापतिको उम्मेदवार बन्छु भनेर मैलै छलफल गरेको छु।
सभापतिका उम्मेदवारले विजयी हुन ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ। पहिलो चरणमा कसैको ५१ प्रतिशत आएन भने तपाईंले कसलाई सघाउनुहुन्छ ?
निधि : त्यसको आवश्यकता नै पर्दैनजस्तो मलाई लाग्छ। पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याएर म सभापति बन्छु भन्ने विश्वास मलाई छ।
मैले कसैको विरुद्धमा उम्मेदवारी दिन लागेको कुरा नै गलत बुझाइ हो। मैले नेपाली कांग्रेसको पक्षमा उम्मेदवारी दिएको हुँ। नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएर संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ।
तपाईंको टिममा अहिलेसम्म नेताहरू खासै खुलेका देखिँदैनन् ? तपाईंको टिमबाट अन्य पदाधिकारी पदमा क–कसको उम्मेदवारी छ ?
निधि : ५ असोजसम्म कांग्रेसको महाधिवेशन प्रतिनिधिहरू छानिन्छन्। त्यसपछि त्यो सबै टुंगो लाग्छ। महाधिवेशन प्रतिनिधिहरू छानिएपछि त्यसको टुंगो लाग्छ। अहिले त्यसबार यो वा त्यो भन्ने अवस्था छैन। तर म गृहकार्यमा लागिरहेको छु। अहिले कसैको पनि टिमको घोषणा भएको छैन। सबै अहिले आन्तरिक छलफलमै छन्।
तपाईंको टिममा को को सम्भावित उम्मेदवार छन्, भन्न मिल्दैन ?
निधि : त्यो मिडियाबाजी गर्ने विषय होइन।
कुन प्रेरणाले तपाईंले सभापतिमा उम्मेदवारी दिनुभएको हो ?
निधि : कुनै पनि क्षेत्रमा लागेपछि सबैको एउटा लक्ष्य हुन्छ। जसरी हरेक पत्रकारको प्रधान सम्पादक बन्ने लक्ष्य हुन्छ त्यसरी नै राजनीतिमा लागेपछि मैले पनि सभापति बनेर नेतृत्व गर्ने लक्ष्य लिने अस्वाभाविक होइन।
१३ औं महाधिवेशनताका पनि मैले सभापति देउवासहित अन्य साथीहरूलाई १४ औं महाधिवेशनमा म सभापतिको उम्मेदवार बन्छु भनेको थिएँ। अहिले आएर रातारात निर्णय गरेको होइन मैले।
तपाईं अहिले नै उपसभापति हुनुहुन्छ। तपाईं सम्मिलित कार्यसमितिको सभापतिले पुन: उम्मेदवारी दिने निश्चित छ। फेरि यो कार्यसमितिले पार्टीलाई प्रगतिपथमा लैजान सकेन भन्ने आरोप पनि छ। यस्तोबेला प्रधानमन्त्री एवं सभापति देउवाविरुद्ध तपाईंको उम्मेदवारीको औचित्य पुष्टि हुन्छ त ?
निधि : मैले कसैको विरुद्धमा उम्मेदवारी दिन लागेको कुरा नै गलत बुझाइ हो। मैले नेपाली कांग्रेसको पक्षमा उम्मेदवारी दिएको हुँ। नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएर संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ। म यसको पक्षमा उम्मेदवार भएको हुँ। संविधान जारी भएर त्यसअनुसार तीनै तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा भयो।
भलै हामीले नराम्ररी पराजय व्यहोर्यौँ तर आम नेपाली मतदाताले अब फेरि कांग्रेस आउनुपर्छ भन्न थालेका छन्। त्यसका लागि १४ औं महाधिवेशनवाट कांग्रेस ताजा भएर आउनुपर्छ।
त्यसका लागि दुई–तीनवटा विषयमा प्रस्ट हुनुपर्छ। वैचारिक रुपमा पहिला हामी प्रस्ट हुनुपर्छ। हामीले जुन प्रणाली ल्याएका छौं, त्यसको पक्षमा दह्रोसँग उभिनुपर्छ।
दोस्रो विषय हो, हामीले ल्याएको संवधान संशोधनसहित बढाउनुपर्ने छ। यो काम कांग्रेसले मात्रै गर्नसक्छ।
कम्युनिष्टले यत्रो बहुमत ल्याए र पनि त्यो काम नगर्न सकेको प्रमाणित भइकसेको छ। यो काम नेपाली कांग्रेसले मात्र गर्न सक्छ भन्नेमा कुनै आशंका छ जस्तो लाग्दैन। नेपाली कांग्रेस भित्र थरी थरी विचारहरू छन्। जुन स्वाभाविक हो। ती सबैलाई मिलाएर बढ्नुपर्छ। त्यस्तै यसपटकको क्रियाशील सदस्यमध्ये ३५ प्रतिशत जति युवा छन्। उनीहरूको नेतृत्व विकासबारे पनि म सचेत छु।
संसद्मा नेपाली कांग्रेसको उपस्थिति कमजोर भएको सही हो। तर कम्युनिष्टहरूकै कारण अहिले हामीले नेतृत्व गर्नुपर्ने अवस्था आएको छ। तथापी हाम्रो सामु जटीलता पनि त्यतीकै छन्। हामीले चार, पाँच वटा दलको सहकार्यमा सरकार चलाइरहेका छौं। त्यसका आफ्नै जटिलता छन्।
अघिल्लो हप्ता मात्रै तपाईंले सम्पर्क कार्यालय उद्धघाटन गर्दा जनकपुरदेखि काठमाडाैंसम्मका सबैजसो प्रमुख शक्तिपिठका महन्थहरूलाई डाक्नुभयो। यसले तपाईंले अहिलेसम्म अडान लिँदै आएको धर्मनिरपेक्षताबाट परिवर्तन हुन खोजेको आशंका उब्जाएको छ नि ?
निधि : यो वाहियात बहस र आशंका हो। मेरो आचरण, दैनिक कामकाज, सिद्धान्त र विचार फरक–फरक विषय हुन्। तपाईं हामीले बिहेको दिनमा एउटा विशेष लुगा लगाउछाैं, यसको अर्थ के हामी अन्य लुगालाई महत्व दिन छाडेका हौं भन्ने हुन्छ र?
धर्मनिरपेक्षता, संघीयता, समावेशीता र लोकतन्त्रबारे मेरो प्रस्ट अडान छ। संविधानमा धर्मनिरपेक्षताको व्यवस्था छ। मेरो निष्ठा त्यसप्रति पूर्ण रूपमा छ।
कांग्रेसको १४ औ महाधिवेशनमा हिन्दू राष्ट्रको एजेण्डाले महत्वपूर्ण भूमिका खेल्ने आकलन छ नि ?
निधि : त्यो कस्तो आकलन हो त्यसबारे मलाई थाहा छैन। नेपाली कांग्रेसको एजेन्डा संघीयता हो, समावेशीता हो, धर्मनिरपेक्षता हो। अरू कुरा मलाई थाहा छैन।
गत निर्वाचनपश्चात् तपाईंसहित आम कांग्रेसीलाई यही ससंद्को कार्यकालमा सत्ता आफ्नो हातमा आउँछ भन्ने विश्वास थिएन। तर परिस्थितिले सत्ताको नेतृत्व कांग्रेसको हातमा पुगेको छ। यो परिवर्तनलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
निधि : संसद्मा नेपाली कांग्रेसको उपस्थिति कमजोर भएको सही हो। तर कम्युनिष्टहरूकै कारण अहिले हामीले नेतृत्व गर्नुपर्ने अवस्था आएको छ। तथापी हाम्रो सामु जटीलता पनि त्यतीकै छन्। हामीले चार, पाँच वटा दलको सहकार्यमा सरकार चलाइरहेका छौं। त्यसका आफ्नै जटिलता छन्।
अब विदेश सम्बन्धको चर्चा गरौं। नेपाल–भारत सम्बन्ध केही वर्षयता बिग्रिएजस्तो देखिएको थियो ? अहिले कस्तो छ ?
निधि : नेपाल–भारत सम्बन्ध यति नजिकको छ कि त्यसमा स्वत: केही जटिलता सधैँ देखिने गरेका छन्। अब कांग्रेस नेतृत्वमा हाम्रो सरकार बनेको सम्बन्धलाई राम्रो बनाउँदै अघि बढाउनुपर्छ।
अघिल्लो हप्ता मात्रै भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडांै आएका थिए। उनीसँग तपाईंको पनि भेट भयो। के कुरा भयो ?
निधि : उहाँ र मेरो बिचमा मुख्यत: चार वटा विषयमा कुरा भयो। सबैभन्दा पहिला कोभिडको खोपबारे कुरा भयो। दोस्रो, जनकपुर–जयनगर रेलबारे भयो। तेस्रो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणताका उहाँले त्यस क्षेत्रका लागि घोषणा गरेको एक सय करोडको अनुदान रकमबारे कुरा भयो।
चौथो, भारतले नेपालको संविधानलाई स्वागत गरिदिनुपर्यो भनेर मैले उहाँलाई सुझाव दिएँ। अहिलेसम्म भारतले नेपालको संविधानलाई नोट मात्रै गरेको छ। आउँदो ३ असोजमा संविधान दिवसको अवसर पारेर स्वागत नै गरिदिँदा राम्रो हुन्छ भनेर मैले सुझाएँ। साथसाथै उहाँसँग पार्टी–टु–पार्टी सम्बन्धबारे पनि कुराकानी भयो।
भिडियो पनि