आयातीत अक्सिजनलाई प्राथमिकता, बन्द हुन थाले स्वदेशी उद्योग

नेपालभ्युज

आयातीत अक्सिजनलाई प्राथमिकता, बन्द हुन थाले स्वदेशी उद्योग

काठमाडौँ। सरकारले आयातीत अक्सिजनलाई प्राथमिकता दिँदा स्वदेशी उद्योग बन्द हुन थालेका छन्।

भारतमा कोरोनाको दोस्रो लहर शुरु भएर संक्रमण ह्वात्तै बढेपछि पर्याप्त मात्रामा अक्सिजन आयात हुन सकेको थिएन।

उक्त समयमा २६ वटा स्वदेशी उद्योगले अक्सिजन उत्पादन गरेकोमा अभावका बेला महत्वपूर्ण भूमिका स्वेदशी उद्योगले खेलेका थिए। तर सरकारले नै ग्यासभन्दा तरल अक्सिजनलाई प्राथमिकतामा राखेर आयातलाई नै महत्व दिँदा बजार नपाएपछि स्वदेशी उद्योग बन्द हुन थालेका हुन्।

नेपाल अक्सिजन उत्पादक संघका अनुसार हालसम्म ५ वटा उद्योग बन्द भइसकेका छन्।

नेपालमा तरल अक्सिजन उत्पादन नहुने भए पनि सोझै सिलिण्डरमा भर्न मिल्ने गरी ग्यास अक्सिजन उत्पादन हुने गरेको छ। तरल अक्सिजन ट्यांकरमा जम्मा गरेर राख्न सकिन्छ भने ग्यास अक्सिजनलाई सोझै सिलिण्डरमा भर्नुपर्ने हुन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट तरल अक्सिजन आयात गरिरहेको भन्दै संघका अध्यक्ष गौरव शारडाले स्वदेशी उद्योग बन्द हुन थालेको बताए।

“अहिले संक्रमण घटेकाले भारतलगायत मुलुकले अक्सिजन निर्यात गरे पनि तेस्रो लहर शुरु भयो भने आफ्नै देशमा माग बढे उनीहरूले निर्यात गर्न सक्दैनन्,” उनले भने, “अहिले सरकारकै कारण उद्योग बन्द हुन थालेकोमा तेस्रो लहर आयो भने के गर्ने भन्ने सरकारले सोचेको देखिन्न।”

उनकाअनुसार नेपाली उद्योगहरूको मासिक अक्सिजन उत्पादन क्षमता १ लाख १५ हजार मिटर क्युब छ। यद्यपि हाल माग नरहेका कारण त्यसको आधाभन्दा कम उत्पादन भइरहेको उनले जानकारी दिए।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी अक्सिजनको आयात भने संक्रमण घटेपछि बढेको देखिएको छ।

विभागकाअनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा १ लाख ८२ हजार मिटर क्युब अक्सिजन आयात भएको छ।

यो अघिल्लो महीनाका तुलनामा ६५ हजार मिटर क्युबले बढी हो। विभागकाअनुसार गत असारमा नेपालमा १ लाख १६ हजार मिटर क्युब अक्सिजन आयात भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved