बढाइँदै छ कोभिड खोप भण्डारण क्षमता

खोपको संख्या र नयाँ प्रकार पनि थपिन थालेपछि भण्डारण क्षमता बढाउन थालिएको हो।

बढाइँदै छ कोभिड खोप भण्डारण क्षमता

काठमाडौं। कोभिड-१९ विरूद्धको खोप आपूर्ति बढ्दै गएपछि भण्डारण क्षमता बढाइने भएको छ। स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले अहिले भइरहेको भण्डारण क्षमतालाई दोब्बर बनाउन लागिएको बताए।

मोडर्ना र फाइजर खोप पनि आउने भएपछि खोप भण्डारण क्षमता बढाउन लागिएको हो। सरकारले असोज मसान्तसम्म एक करोड दुई लाख मात्रा र आगामी चैतसम्म तीन करोड २३ लाख मात्रा खोप अनुदान, खरिद गरेर ल्याउने तयारी थालेको छ।

कोभिड-१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार नेपालमा सामान्य तापक्रमका लागि भण्डारण गर्न सक्ने क्षमता भए तापनि अत्याधिक चिसोमा राखिने खोपका लागि हालसम्म क्षमता छैन। मोडर्नालाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियस र फाइजरलाई माइनस ७० देखि माइनस ८० डिग्री सेल्सियससम्म तापक्रम चाहिन्छ। अहिले प्रयोगमा ल्याइएका भेरोसेल र कोभिशिल्ड खोपलाई भने २ देखि ८ डिग्री सेल्सियस तापक्रम भए पुग्छ।

शाखा प्रमुख ढुंगानाका अनुसार सामान्य तापक्रममा राख्न १९ वटा वाकिङ कुलर र बढी चिस्यानमा राख्न ‘अल्ट्रा कुल चेन’ र ‘सुपर कुल चेन’ भण्डारण बनाउन थालिएको छ।

डा. उप्रेतीका अनुसार ६ महिनासम्म फाइजर खोपलाई माइनस ७० देखि माइनस ८० डिग्रिसेल्सियस तापक्रम राख्न सकिन्छ। त्यसपछि दुई हप्तासम्म माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म २ देखि ८ डिग्रिसेल्सियस तापक्रममा राख्न सकिन्छ।

सबै खोपको आयतन फरक-फरक हुने भएकाले १९ वटा वाकिङ कुलर बनाउँदा पनि कति अटाउन सक्छन् भन्ने यकिन भने भइसकेको छैन। ढुंगानाका अनुसार सबैभन्दा बढी ठाउँ भेरोसेल खोपले ओगटेको छ। भेरोसेल खोपको प्याकेजिङ ठूलो भएकोले एक करोड कोभिशिल्ड अटाउने ठाउँमा १० लाख पनि नअट्ने उनले बताए।

“मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौंमा मात्र भण्डार गर्न सकिने अवस्था छ। ती दुई खोप यहाँ मात्र भण्डारण गर्ने र यहाँ राखिसकेपछि मात्र प्रदेशमा पठाउने व्यवस्था मिलाइने छ”, ढुंगानाले भने।

नेपालमा विभिन्न देशबाट ९ भदौसम्म एक करोड २२ लाख डोज खोप आएर वितरणसमेत भइसकेको उनले बताए । भने, “नेपालमै खोप भण्डारण गर्ने क्षमता भएरै नै यति धेरै खोप लगाउन सकिएको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved