काठमाडौं । सरकारले उपत्यकाको निषेधाज्ञा हटाएको छ।
स्वास्थ्यको मापदण्ड पालना गर्दै निषेधाज्ञा हटाइएको छ। भने जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सकिने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।
बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले लामो निषेधाज्ञाको अन्त्य गर्ने निर्णय गरेको पराजुलीले बताए।
आज भएका अन्य निर्णयहरू
शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन नपाउने। गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालनको निर्णय गर्न सक्ने।
अनावश्यक रूपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने। यस अवधिमा पर्ने चाडपर्व स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा मात्र मनाउन पाइने।
सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरू संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने।
स्थानीय ढुवानी बिहान ९ बजे देखि ११ बजेसम्म र अपराह्न ४ बजे देखि ७ बजेसम्म गर्न नपाउने।
सार्वजनिक तथा निजी निर्माण कार्यका लागि सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने।