विशुद्ध पत्रकारिता हाम्रो अठोट

सूचना प्रविधिमा परिवर्तन आएसँगै बढ्दो अनलाइन न्यूज पोर्टलको लस्करमा हामी संख्या थप्न होइन, मर्यादित र विशुद्ध पत्रकारिता अभ्यास गर्ने अठोट लिएर आएका छौं। 

नेपालभ्युज

विशुद्ध पत्रकारिता हाम्रो अठोट

नेपालको मिडिया बजारले धान्नै नसक्ने न्यूज पोर्टलहरू खुलिसके। अर्को एउटा न्यूज पोर्टल किन चाहियो ? केका लागि ? कतिञ्जेल थेगिन्छ? लगानी र जनशक्ति पर्याप्त छ? संस्थागत होला? सञ्चालनको तयारी गर्दै गर्दा सहकर्मी/शुभचिन्तकका थुप्रै प्रश्नको सामना गरिसकियो।

सञ्चालन भएसँगै यस्ता अनेक थप प्रश्न आउनेछन्। यी अन्यथा होइनन्। किन पनि भने, न्यूज पोर्टलको संख्यामा अस्वाभाविक वृद्धि हाम्रो यथार्थ भएको छ। यद्यपि सिक्काको अर्को पाटो पनि छ, यो भीडमा व्यावसायिक पत्रकारिताको कसीमा खरो उत्रेका न्यूज पोर्टल औंलामै गन्न सकिने छन्। समाजलाई व्यावसायिक मिडियाको अझै खाँचो छ। व्यावसायिक पत्रकारिताको मन्त्र बोकेर हामी ‘स्पेश’ बनाउने अठोटसहित आएका छौं।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा मिडिया क्षेत्रको विकास र विस्तार हुँदै आयो। यसबीच छापा पत्रकारिताको दबदबा रह्यो। ठूला लगानीमा कर्पोरेट मिडिया हाउसहरू सञ्चालनमा आए। र, त्यसैलाई मूलधारको पत्रकारिता अभ्यास मानियो। ठूला मिडिया हाउसले चलाएका ब्रोडसिट, म्यागेजिन, टेब्लाेइड आदि हाम्रो पत्रकारिताका ‘ट्रेन्ड सेटर’ बने। तर, अब अवस्था फेरिएको छ। छापा पत्रकारिता संकटग्रस्त हुदै विस्थापनको बाटोमा अग्रसर छ। मूलधारको पत्रकारिता अभ्यासलाई अब ‘न्यू मिडिया’ले ओगट्न थालेको छ।

यो हाम्रो मात्रै सन्दर्भ होइन, विश्वमै सञ्चार जगत् यही अभ्यासमा छ। सूचना प्रविधिमा आएको अभूतपूर्व विकास र बदलिएको परिवेशसँगै हामी पनि यसै अभ्यासलाई पछ्याउदै छौं। हाम्रो दुःख के छ भने, हामी संख्या थप्ने अभ्यासमा रमाएका छौं। जबकि चाहिएको पत्रकारिताको स्तर अभिवृद्धि हो, विश्वसनीयता हो। ‘नेपालभ्यूज’ अंक थप्ने अभ्यासमा सीमित हुने छैन, मूलधारमा स्थापित हुनेतर्फ अग्रसर हुनेछ। यो हाम्रो अठोट हो।

पत्रकार यही समाजका उत्पादन हुन्। हाम्रो पत्रकारिता पनि यहाँ विद्यमान कतिपय प्रवृत्तिबाट सायद मुक्त हुने छैन। यद्यपि पेशागत मर्यादा र व्यावसायिकताको हुर्मत लिने जुन असंगति यस क्षेत्रभित्र हुर्कँदै छ, त्यो हामीलाई स्वीकार्य हुने छैन। अनेकखाले पत्रकारिताको अभ्यास चलेको छ देशमा। कतै ‘प्रहसन’जस्तो देखिन्छ। कतै पार्टी र नेताको मुखपत्र, अनि कतै ‘एक्टिभिज्म’को हतियार भइरहेका देखिन्छन् अनि कतै ‘कमाउने धन्दा’मा सीमित छन्।

हामी विशुद्ध पत्रकारिताको मूल्यमा अडिग पंक्तिमा उभिनेछौं। आफैंमाथि निर्मम प्रश्न र समीक्षा गरेर सच्चिँदै बढ्दा मात्रै यो पेशाको मर्यादा जीवन्त रहनेछ भन्ने हाम्रो विश्वास हो। त्यसैले आफैंमाथि निर्मम प्रश्न गर्दै कमीकमजोरी सुधारेर बढ्न चाहन्छौं।

यो समय हाम्रा लागि उत्साहप्रद छैन। राजनीतिक अस्थिरताले लामो समय गाँजिएको मुलुक फेरि त्यही बाटो उन्मुख हुन थालेको आभास हुन्छ।
समृद्धि र खुसहाली नारामा सीमित छन्। अग्रगामी राजनीतिक मुद्दाहरू स्थापित हुनुपर्नेमा त्यसलाई उल्टाउने प्रपञ्च हुन थालेका छन्।

राजनीतिक नेतृत्व असफलप्रायः छ। आचरण र मूल्यको राजनीतिमा मात्रै चुक भएको होइन, जनताले न्यूनतम आवश्यकतामा पनि भर गर्न नसक्ने ठाउँमा पुगेको छ, राजनीति।

धेरै लामो संघर्षबाट आजको राजनीतिक उपलब्धि आएको हो। नेतृत्वले यी उपलब्धिको रक्षा गर्ने, यसलाई संस्थागत गर्दै जनताका अपेक्षा पूरा गर्ने बाटो हिँड्नुपर्थ्यो। तर, सत्तासुख, सत्ताप्राप्ति र सत्ता उन्मादकै खेलमा नेतृत्व हेलिएपछि अवस्था प्रतिकूल बन्दै गएको छ। यस्तै प्रतिकूलतामा हो, धमिलो पानीमा माछा मार्न खोज्ने प्रवृत्ति हाबी हुने। अहिले पनि यो जोखिम छ। त्यसैले मिडियाको भूमिका अझ चनाखो, जब्बर र जिम्मेवारपूर्ण हुनु आवश्यक छ।

अहिलेको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक प्रणालीमै हो, व्यावसायिक मिडिया फल्ने फुल्ने। यो प्रणालीलाई संस्थागत गर्दै र थप परिष्कृत गर्दै बढ्दा समाजको बृहत्तर हित हुन्छ भन्ने हाम्रो बुझाइ हो। त्यसैले हामी कतै ढल्कन्छौं भने, लोकतन्त्रको पक्षमा ढल्कन्छौं। हामीले खुलेर केही वकालत गर्छौं भने, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको अनि व्यावसायिक पत्रकारिताको। अनि हाम्रो स्वार्थ राष्ट्रिय स्वार्थसँगै जोडिएको हुनेछ।

आजैबाट हामीले ‘नेपालभ्यूज डटकम’को ‘सफ्ट लञ्च’ गरेका छौं। अरू केही दिन हामी प्राविधिक हिसाबले परीक्षणको चरणमा हुनेछौं। आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर यसको औपचारिक शुभारम्भ गर्ने हाम्रो योजना छ।

यसबीच आम पाठकरश्रोता, शुभचिन्तक, विज्ञापनदाता सबैबाट रचनात्मक सल्लाह र सुझावको अपेक्षा राखेका छौं। हामी आफैंमाथि प्रश्न गर्न, कमी कमजोरी सुधार्न अरूलाई उत्प्रेरित गर्छौं र आफैं पनि त्यही बाटोमा हिँड्ने प्रण गर्छौं।


Comment

4 thoughts on “विशुद्ध पत्रकारिता हाम्रो अठोट

  1. राम्रो अठोट लिनुभएको रहेछ, अगि बढ्नुहोस् । सबै पक्ष समूह क्षेत्र मत विचारलाइ समुचित स्थान दिनुहोस् । कुलतजनका विज्ञापन, राशीफल, जातिय धार्मिक हिंसा, व्यक्तिगत गालीगलाैज, मेटान्यारेटिभका भरमा गरिने स्विपिङ एनालिसिसहरू नछाप्नुहोस् । विषयको गाम्भीर्य र तथ्यपरकताका अाधारमा लेख रचनालाइ स्थान दिनुहोस् । अब अाम नागरिक र पाठकले चाँडै पहिचान गर्छन् वास्तविक सञ्चारकर्मको ।
    धन्यवाद ।

Leave a Reply to Bidur Adhikari Cancel reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved