आर्थिक अभाव झेल्दै गाैतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, कामले गति लिएन

धुर्मुस भन्छन्, "साउन लागेयता आर्थिक अभावले काममा बाधा भयो"

दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रंगशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन्। त्यो जनशक्ति पनि नियमित छैन।

नेपालभ्युज

आर्थिक अभाव झेल्दै गाैतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला, कामले गति लिएन

चितवन। भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामले गति लिन सकेको छैन।

दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रंगशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन्। त्यो जनशक्ति पनि नियमित छैन।

धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रंगशाला निर्माण भइरहेको छ।

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताए। सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उनले साउन लागेयता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताए।

रंगशालामा हालसम्म ५३ करोड रुपैयाँ बराबरको काम भएको छ। जसमध्ये १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिए। भने, “असार मसान्त हुँदै गर्दा सामग्री दिनेहरूलाई भुक्तानी गर्न सकेनौँ। सामानकै अभावमा काम हुन सकेको छैन।” उनका अनुसार साउन १५ गतेयता जनशक्ति नियमित काममा लगाउन सकिएको छैन। सामग्री दिनेहरूले रकम माग्ने क्रम बढ्दो छ।

अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रंगशालाको धेरै काम गर्न सकेको बताउँछन्। गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उनले आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने बताए।  रकम जुटेमा आउँदो एक वर्षमा रंगशाला सम्पन्न हुने उनको भनाइ छ।

हाल भुइँ र प्याराफिटको फिनिसिङको काम भइरहेको छ। बजेट भएको भए ढलानका काम अघि बढ्ने उनले बताए।

केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको उनले जानकारी दिए। अर्थमन्त्री, खेलकुद मन्त्रालयलगायत निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उनको भनाइ छ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले नयाँ अर्थमन्त्री आएसँगै रंगशाला, नारायणी नदी तटबन्धन र महानगरको प्रशासनिक भवनका लागि बजेट माग गरी पत्राचार गरिएको बताइन्। भनिन्, “संघीय, प्रदेश, महानगरसँगै दाताहरूको सहयोगमा छिट्टै रंगशाला निर्माण सम्पन्न गर्नुपर्छ भन्नेमा हामी लागिपरेका छौँ।”

महानगरभित्रको महत्वपूर्ण आयोजना रंगशाला भएको भन्दै उनले यसको कामलाई गति दिन आवश्यक रकम जुटाउनेमा लागिपरेको प्रस्ट्याइन्।

२२ बिघा १६ कट्ठा पाँच धुरमा रंगशाला निर्माण गरिँदै छ। विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्गमिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्न सक्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved