नेपाल-भारत मैत्रीपूर्ण खेल : रंगशाला दर्शकविहीन हुने !

अभिषेक रिजाल र रोहित चन्द टोलीमा परेनन्

नेपालभ्युज

नेपाल-भारत मैत्रीपूर्ण खेल : रंगशाला दर्शकविहीन हुने !
फाइल फाेटाे

काठमाडाैं। नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेल दर्शकविहीन हुने सम्भावना बढेको छ। बिहीबार र आइतबार नेपालले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने कार्यक्रम छ। दुवै खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ।

खेल हुन दुई दिनमात्रै बाँकी हुँदासमेत दर्शकको विषयमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले ठोस निर्णय दिन सकेको छैन।

राष्ट्रिय खेलुकद परिषद् (राखेप), खेलकुद मन्त्रालयमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा एन्फाले पठाएको पत्रको सुनुवाइ भएको छैन।

पछिल्लो समय एन्फाले कोभिडरिुवद्ध खोप लगाएका दर्शक अथवा दर्शक क्षमताको २५ प्रतिशत मात्रै भए पनि राख्ने सर्तसहित सीसीएमसीमा पत्र पठाएको थियो।

तर पछिल्लो समय सीसीएमसीको बैठक नबस्दा एन्फाको पत्र रोकिएको छ। यो दुई दिनभित्र मात्रै सीसीएमसीको बैठक बसेर स्वीकृत पाएमा एन्फा दर्शक रंगशालामा प्रवेश दिने रणनीतिमा छ।

‘दर्शकको विषयमा कुनै निर्णय भएको छैन। हामी सीसीएमसीको निर्णय कुरेर बसेका छौं,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, “बिहीबार बिहानसम्म पनि स्वीकृति पाए हामी दर्शकलाई प्रवेश दिनेछौं।”

मैत्रीपूर्ण खेलका लागि ३७ सदस्यीय भारतीय टोली नेपाल सोमबार नै आइपुगेको छ। कप्तान सुनिल क्षत्रीको कप्तानीमा गोलरक्षक गुरप्रित सिंह सन्धूसहित २५ सदस्यीय टोली छ। मुख्य प्रशिक्षक इगोर स्टिम्याकसहित १२ जना अफिसियल छन्।

भारतीय टोली नेपाल भ्रमणमा रहँदा होटल सोल्टी प्लाजामा बस्नेछ। उसको तयारी भने दशरथ रंगशाला, एन्फा मैदान तथा आर्मीको मैदानमा हुनेछ।

करिब तीन साताको पोखरा अभ्यासपछि नेपाली टोली पनि काठमाडौं आइपुगेको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरणकुमार लिम्बूको कप्तानीमा २५ सदस्यीय खेलाडी छनोट गरेका छन्।

अनुभवी खेलाडीहरू भरत खवास, विक्रम लामा, रञ्जित धिमाल, अभिषेक रिजाल, जर्ज प्रिन्स कार्की, रोहित चन्द यसपटक टोली बाहिर हुनेछन्।

रोहित क्याम्पमै रहे पनि इन्डोनेसियाको लिग वान सुरु हुने हुँदा गत साता आफ्नो क्लब पर्सिजा जाकर्तातर्फ पुगेका थिए। प्रशिक्षक अब्दुल्लाहले भारतविरुद्धको खेलका लागि पहिलोपटक नितिन थापा, राजन गुरुङलाई स्थान दिएका छन्।

बुधबार बिहान ११ बजे एन्फा मुख्यालयमा खेलअघि दुवै टोलीका प्रशिक्षक र कप्तानसहित पत्रकार सम्मेलन हुनेछ।

नेपाल र भारत दुवैले माल्दिभ्सको मालेमा १–६ अक्टोबरसम्म हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। पाँच टोली सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ।

यसपटक पाकिस्तानले फिफा प्रतिबन्धका कारण खेल्ने छैन भने कोरोना कारण देखाउँदै भुटानले नाम फिर्ता लिएको छ।

हालसम्म नेपाल र भारतबीच १९ पटक भेट भएको छ। जसमा भारतले आफ्नो दबदबा कायम गरेको छ। भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ।

चार खेल भने बराबरीमा समाप्त भएका छन्। भारतले ३३ र नेपालले नौ गोल गरेका छन्।

नेपाल र भारतले पहिलो पटक २० डिसेम्बर १९८५ मा खेलेका थिए। जुन खेल गोलविहीन थियो। त्यसको भोलिपल्ट पुनः भिड्दा भारतले खेल २-० गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो।

दुई टोलीले अन्तिमपटक सन् २०१७ को जुन ६ मा भिडेका थिए। भारतको मुम्बई फुटबल एरिनामा भएको खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो। भारतका खेलाडी सन्देश झिन्गान र जे जे लाल पेख्लुयाले नेपालविरुद्ध गोल गरेका थिए।

नेपालले अन्तिमपटक घरेलु मैदानमा भारतसँग १७ मार्च २०१५ मा खेलेको थियो। फिफा विश्वकप छनोटका लागि भएको खेल गोलरहित बराबरीमा समाप्त भएको थियो।

नेपाल र भारतबीचको खेलमा सर्वाधिक गोलकर्ता भारतीय टोलीका हालका कप्तान सुनिल क्षत्री छन्। उनले आठ खेल खेल्दै पाँच गोल गरेका छन्। यस्तै आईएम बिजयन र कार्लटन चापम्यानले समान तीन गोल गरेका छन्।

२५ सदस्यीय नेपाली टिम

गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रोहित चन्द, सुमन अर्याल
मिडफिल्डर : आयुष घलान, अञ्जन विष्ट, विशाल राई, कमल थापा, मनिष डाँगी, नितिन थापा, पुजन उपर्कोटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज ठकुरी, तेज तामाङ
स्ट्राइकर : आशिष लामा, नवयुग श्रेष्ठ, सुमन लामा

भारतीय टोली

गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह
डिफेन्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीष बोस, सेरिटन फर्नान्डेज
मिडफिल्डर : अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेससिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपीन सिंह
स्ट्राइकर : मन्विर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved