सतारुढ गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तार बुधबार हुने

'दार्चुला तुइन प्रकरणबारे सरकार प्रस्ट हुनुपर्छ'

आजको बैठकमा सरकार विस्तार, बजेट संशोधन र दार्चुला घटनालगायत विषय नेताहरूले उठाएका थिए

नेपालभ्युज

सतारुढ गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तार बुधबार हुने
फाइल फाेटाे

काठमाडाैं। सतारुढ पाँचदलीय गठबन्धनको बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा २९ असारमा प्रधानमन्त्री भएयता मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। हिजो (आइतबार) बिहान र बेलुका गरी दुुई पटक प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच यसबारे छलफल भएको थियो।

सोमबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष दहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृतका अध्यक्ष नेपालसहित नेताहरू विजय पौडेल , राजेन्द्र पाण्डे र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भटराई सहभागी थिए।

बुधबार मन्त्रिपरिषद् विस्तार हुने

आजको बैठकमा सरकार विस्तारबारे  छलफल भएको र प्रधानमन्त्री देउवाले शीर्ष नेताहरूसँग छलफल गरेर चाँडै यसलाई टुंग्याउने कांग्रेस महामन्त्री खड्काले बताए। एकीकृत समाजवादी पार्टीका नेता पौडेलले बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आउँदो बुधबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको बताए।

बजेट संशोधन हुने

बैठकमा सतारुढ घटकका नेताहरूले यसअघिको सरकारले ल्याएको बजेटमा संशोधन गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन्। एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याएको थियो। उक्त बजेटमा संशोधन गर्न प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेका सतारुढ दलका नेताहरूले बताएका छन्।

‘दार्चुला तुइन प्रकरणबारे सरकार प्रस्ट हुनुपर्छ’

दार्चुलामा भारतीय प्रहरीले तुइन काटेपछि जयसिंह महराको मृत्यु भएको थियो। यसबारे सरकारले आफ्नो ‘पोजिसन’ प्रस्ट पार्नुपर्ने विषय आजको बैठकमा उठेको छ।

समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री भटराई र माओवादी केन्द्रका नेता श्रेष्ठले प्रधानमन्त्रीलाई यसमा नअलमलिई नगरिकन प्रतिवेदन सार्वजनिक गर्न र भारतसँग कुरा गर्न माग गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved