नेकपा एमाले : १० बुँदे कार्यान्वयनका लागि कुन प्रदेशमा कसलाई जिम्मेवारी ?

नेपालभ्युज

नेकपा एमाले : १० बुँदे कार्यान्वयनका लागि कुन प्रदेशमा कसलाई जिम्मेवारी ?
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वयनमा गएको छ। पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा लैजान भएको सहमति कार्यान्वयनका लागि सातवटै प्रदेशका नेतालाई जिम्मेवारी तोकिएसँगै सहमति कार्यान्वयनमा गएको हो।

एमालेको गत साता बसेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)-१२ मा सहमति कार्यान्वयनको छनक देखिएको हो। उक्त अपानिमा १० बुँदे कार्यान्वयनका लागि एमालेका तथा माओवादी केन्द्र परित्याग गरी आएका विभिन्न ३२ नेतालाई जिम्मेवारी तोकिएको छ।

अपानिमा उल्लेख भएअनुसार नेकपा एमालेको सातवटै प्रदेश इन्चार्जमा साविककै नेताहरुले जिम्मेवारी पाएका छन्। माअ‍ोवादी केन्द्रसँग एकता हुनुअघि प्रदेश इन्चार्ज रहेका नेताहरुले नै प्रदेशमा जिम्मेवारी पाएपछि पार्टीभित्र १० बुँदे कार्यान्वयनमा गएको नेताहरुले बताएका छन्।

प्रदेश इन्चार्जको जिम्मेवारी पुरानै नेताहरुमा आएसँगै पार्टीका सबै संरचनामा १० बुँदेअनुसार समायोजन गर्नका लागि नेताहरुलाई समेटेर जिम्मेवारी दिइएको अपानिमा उल्लेख छ। सात प्रदेशसँगै विभिन्न जनसंगठनहरुमा समायोजनका लागि महासचिव ईश्वर पोखरेलसहितका नेताहरुलाई जिम्मेवारी तोकिएको छ।

अब एमालेको प्रदेश इन्चार्जको जिम्मेवारीमा साविकअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णुप्रसाद पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल फर्किएका छन्।

यस्तै, १० बुँदे कार्यान्वयनका लागि प्रदेश, जिल्ला र सो मातहतका कमिटीहरूका साथै जनसंगठनहरुमा नेकपा एमालेमा विद्यमान समस्या समाधानसम्बन्धी दस बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ।

नयाँ तोकिएको जिम्मेवारीअनुसार प्रदेश १ मा १० बुँदे कार्यान्वयनसहित पार्टी कमिटीलाई समायोजन गर्नका लागि प्रदेश इन्चार्ज भीम आचार्यसहित नेताहरु सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङ्बुहाङले जिम्मेवारी पाएका छन्।

प्रदेश २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु  साह, सुमन प्याकुरेल र ज्वाला कुमारी साहले जिम्मेवारी पाएका छन्। यता, बागमती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेकी अष्टलक्ष्मी शाक्यसँगै रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेलले जिम्मेवारी पाएका छन्।

गण्डकी प्रदेशमा इन्चार्ज किरण गुरुङसहित पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापाले जिम्मेवारी पाएका छन्। उता, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरीले एमालेलाई समायोजन गर्दै चलायमान गराउने जिम्मेवारी पाएका छन्।

कर्णाली प्रदेशमा १० बुँदै कार्यान्वयन गर्दै पार्टी कमिटी समायोजनको जिम्मेवारी युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मीले पाएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापाले जिम्मेवारी पाएका छन्।

एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको समूहले भने पार्टीका जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्दै समायोजनको जिम्मेवारी पाएको छ। पोखरेलसहित उक्त समूहमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले जिम्मेवारी पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved