नारायणी नदीले पार गर्‍यो सतर्कता तह, आसपासका बस्ती उच्च जोखिममा

सप्तकोशीको बहाव यस वर्षकै उच्च

नेपालभ्युज

नारायणी नदीले पार गर्‍यो सतर्कता तह, आसपासका बस्ती उच्च जोखिममा

काठमाडौं। केही दिन यताको निरन्तर वर्षाले मुलुकका विभिन्न भेगमा बाढीपहिरोको जोखिम बढेको छ। नारायणी, गण्डकी, सप्तकोशीलगायत मुख्य नदीमा पानीको बहाब बढेसँगै नदी आसपासका बस्ती उच्च जोखिममा छन्।

आइतबार साढे दुई बजेपछि नारायणी नदीले सतर्कता तह पार गरेको र यो क्रम बढ्दो क्रममा रहेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बस्तीमा ‘मास एसएमएस’ पठाएको छ।

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रको जल सतह सतर्कता तह पार गरेपछि तल्लो तटिय क्षेत्रका बासिन्दालाई नेपाल टेलिकम र एनसेल मोबाइलमार्फत सतर्क रहन खबर गरिएको स्थानीय प्रशासनले जनाएको छ।

देवघाट केन्द्रमा नारायणीको सतर्कता तह ७ दशमलव ३ मिटर रहेकोमा यो क्रम बढेर साँझसम्ममा ७ दशमलव ५ मिटर पुगेको जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

“सोमबार अझै जल सतह बढ्ने देखिएकाले नारायणी किनार आसपासका भेगमा मास एसएमएस पठाइएको हो, नारायणीमा बाढीको बहाव अझै दुई दिन घट्ने सम्भावना छैन”, शाखा प्रमुख विक्रम श्रेष्ठले नेपालभ्यूजसँग भने।

नारायणीमा बाढीको बहाव ९ मिटर पुगेपछि खतराको तह पार गर्ने उनले बताए। श्रेष्ठका अनुसार अझै दुई दिन गण्डकीका सहायक नदी, मस्याङ्दी, त्रिशूलीसहित प्रदेश १ र लुम्बिनी प्रदेशका पहाडी भेगका खोला नदीमा बाढीको जोखिम यथावत् छ।

चुरे र पहाडी क्षेत्र हुँदै बहने मझौला र खहरेमा बाढीको जोखिम उच्च रहेकाले त्यस्ता भेगमा सतर्कता अपनाउन राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणले अपिल गरेको छ।

सप्तकोशीको बहाव यस वर्षकै उच्च

यसैबीच आइतबार सप्तकोशीमा पानीको बहाव यस वर्षकै सबैभन्दा बढी मापन भएको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार त्यहाँ पानीको बहाव दुई लाख ५७ हजार, पाँच सय ९० क्यूसेक पुगेको छ।

यसअघि साउन ३२ गते सप्तकोशीमा पानीको बहाव दुई लाख ५६ हजार २० क्यूसेक मापन गरिएको थियो। बहाव उच्च बिन्दुमा पुगेसँगै आइतबार ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्।

वर्षा सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) नेपाल नजिकै सरेपछि मौसमी प्रभाव केही दिन यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अधिकारीहरूका अनुसार मंगलबार रातिसम्म प्रदेश १, बागमती र गण्डकीमा मध्यम र हल्का वर्षा जारी रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved