काठमाडौं। सरकारलाई पूर्णता दिने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीच छलफल भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।
सरकार गठन भएको ढेड महिनासम्म मन्त्रिपरिषद बिस्तार हुन नसकेको बेला सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवाले शीर्ष दुई नेताहरुसँग आइतबार छलफल गरेका हुन्। यसअघि, शनिबार पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको थियो।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार यही साता भित्र मन्त्रिपरिषद बिस्तार गर्ने गरी प्रधानमन्त्री र अन्य सत्तारुढ घटकाका शीर्ष नेताहरुबीच छलफल भएको हो। सत्ता गठबन्धनमा कांग्रेससहित माअोवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल रहेका छन्।
जसपा नेपालका शीर्ष नेताहरु पार्टी प्रशिक्षणको क्रममा काठमाडौं बाहिर रहेकाले मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको नेताहरुले बताएका छन्। शुरुमा माधव नेपालको दल दर्ताका लागि मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको बताउने गरेका सत्तारुढ नेताहरुले अब जसपाका शीर्ष नेताहरु काठमाडौं आएलगत्तै क्याबिनेट बिस्तारको काम हुने बताएका छन्।
कांग्रेस महामन्त्री खड्काले अबको दुई, तीन दिन भित्र जसपा नेपालसँग समेत छmलफल गरेर मन्त्रिपरिषद बिस्तारका तयारी भइरहेको जानकारी दिए।