‘युवाहरू चर्चित हुने नाममा अध्ययनबिना बोल्छन्’

नेपालभ्युज

‘युवाहरू चर्चित हुने नाममा अध्ययनबिना बोल्छन्’

काठमाडौं। नेपाली युवा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा बिना अध्ययन बोल्ने गरेको पाइएको छ।

ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार साँझ यहाँ आयोजना गरेको भर्चुअल अन्तक्रियामा वक्ताले युवाले कतिपय मुद्दामा बिनाअध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताइएको हो।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्ने बताए। “युवाहरूले बिनाअध्ययन बोल्दा समाजमा गलत सूचना प्रभाव भइरहेको छ, यसलाई रोक्नु जरुरी छ”, उनले भने।

अभियानकर्मीले प्राप्तिको आकांक्षा नराखी काम गर्न सक्दा समाजले उनीहरूबाट लाभ लिन सक्ने वरिष्ठ पत्रकार टीकाराम यात्रीले बताए। समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर तानिरहेको उनको भनाइ थियो।

मानवअधिकारवादी एवं पत्रकार राजन कुइँकेलले सामाजिक अभियानका नाममा अभियानकर्मीले आफू लोकप्रिय हुन गलत सूचनाको सहारा लिने गर्दा समाजमा बिग्रह ल्याउने सुनाए।

संसारमा आपतविपद, प्रकोप र महामारीजस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेको उनको भनाइ थियो।

नायिका रेखा थापाले विगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरूको व्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताइन्।

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तुमाथि राम्रो ज्ञान नराखी प्रचारका लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिँडाउने सुनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved