माधव नेपालको दलको सनाखत सकियो, दर्ताको निर्णय आउन मात्र बाँकी

नेपाल भ्यूज

माधव नेपालको दलको सनाखत सकियो, दर्ताको निर्णय आउन मात्र बाँकी

काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन्।

सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो।

उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेका जानकारी दिए।

केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सनाखतमा उपस्थित भएनन्। पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन्।

संघीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेा छन्। अरू दुुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए।

आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ।

सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका हुन्।

निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी) लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ।

सनाखतपछि नेता पाण्डेले भने, ‘दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ।’

केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए।

दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो। पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गरेाक छन्।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved