बंगाल खाडीको प्रभावले देशैभरको माैसम प्रभावित

नेपालभ्युज

बंगाल खाडीको प्रभावले देशैभरको माैसम प्रभावित

काठमाडौंं । बंगालको खाडीको प्रभावले देशैभरिको मौसम प्रभावित भएको छ।

वर्षा सक्रिय गराउने न्यून चापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तर–पश्चिम भेग र नेपालको तराईतर्फ सरेसँगै अधिकांश भेगमा मध्यम र भारी वर्षा सुरु भएको हो।

बंगालको खाडीबाट पर्याप्त मात्रामा जलवाष्पमिश्रित वायु भित्रिएसँगै आइतबार साँझदेखि मनसुन सक्रिय भएको मौसमविद् वरुण पौडेलले बताए। ‘यतिबेला मनसुन ट्रफ नेपाल नजिक सरेको छ, उनले भने, ‘यससँगै नेपालभित्रै पनि विभिन्न भेगमा स–साना मनसुन ट्रफ विकास भएकाले धेरै ठाउँमा वर्षा भइरहेको छ।’

जल तथा मौसम विज्ञान विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसारविगत २४ घन्टाको अवधिमा पोखरामा (सोमबार बिहानसम्म) सबैभन्दा बढी २ सय ६० मिलिमिटर वर्षा भएको छ। आइतबार सुदूरपश्चिमका तराई क्षेत्र र कर्णाली प्रदेशबाहेक अन्यत्र हल्का र मध्यम वर्षा जारी छ।

अहिलेको मौसमी प्रभाव यो साता जारी रहने महाशाखाको ठहर छ। मौसमविद् पौडेलले भने, ‘मंगलबार मौसममा केही सुधार आए पनि बुधबारबाट धेरै ठाउँमा मध्यम र भारी वर्षा देशैभर दोहोरिनेछ।’ सक्रिय मनसुन अवधि अझै एक महिना बाँकी रहेकाले यो नियमित र स्वाभाविक प्रक्रिया भएको उनले बताए।

मेघ गर्जन र चट्याङसहितको भारी वर्षाले पहाडी क्षेत्रमा पहिरो, खहरे र चुरे क्षेत्रहुँदै बहने नदीमा आकस्मिक बाढीको सम्भावना औल्याएको महाशाखाले खोला किनारका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved