काठमाडाैं । भिनिसियस जुनियरले दुई गोल गरे पनि रियल मड्रिडले गएरातिको खेल जित निकाल्न सकेन। ला लिगाअन्तर्गत गएराति लेभान्टेसँगको आफ्नो दोस्रो खेलमा रियल ३-३ को बराबरीमा रोकिन पुग्यो।
गत सिजन टोटनहामको लोन सम्झाैता सकेनर फर्किएका गारेथ बेलले रियललाई खेल सुरु भएको ५ मिनेटमै अग्रता दिलाएका थिए। करिम बेन्जेमाको पासमा बेलले सहजै गोल गरेका थिए।
तर ४६ मिनेटमा रोजर मार्टीले गोल गर्दै लेभान्टेलाई बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमा सकिएको थियो।
भ्यालेन्सियाको मैदानमा भएको खेलको दोस्रो हाफको १२ मिनेटमा जोसे काम्पानाले गोल गरेपछि लेभान्टेले खेलमा २-१ को अग्रता बनाएको थियो। तर भिनिसियसले ७३ मिनेटमा गोल गरेपछि रियल खेलमा फर्किएको थियो। लेभान्टेका रोबर पियरले ७९ मिनेटमा गोल गर्दै खेल ३-२ को अवस्थामा ल्याएका थिए। तर ८५ मिनेटमा पुनः भिनिसियसले गोल गर्दै रियलको हार टारेका थिए। उक्त गोलमा पनि बेन्जेमाले नै असिस्ट गरेका थिए।
खेल सकिन ३ मिनेट बाँकी छँदा अटुर फर्नान्डेज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेभान्टे केही समय १० खेलाडीमा सीमित भएको थियो।
रियलले जारी लिगमा दुई खेलमा एक जित र एक बराबरी गरेको छ। यसअघि रियलले अल्भेसलाई उसकै मैदानमा ४-१ गोलअन्तरले हराएको थियो। लेभान्टेले भने आफ्ना दुवै खेलमा बराबरी गर्दै २ अंक जोडेको छ।
त्यसैगरी गएराति भएको अर्को खेलमा गत सिजनको विजेता एट्लेटिको मड्रिडले एन्जेल कोरेराको गोल मद्दतमा इल्चेमाथि संघर्षपूर्ण १-० को जित निकालेको छ। पहिलो हाफको ३९ मिनेटमा भएको एक मात्र गोलले एट्लेटिको जारी सिजनको दुई खेलपछि दुवैमा जित निकाल्दै शीर्ष स्थानमा रह्यो।