पोखरा-सिमरा सीधा उडान हुँदै

नेपालभ्युज

पोखरा-सिमरा सीधा उडान हुँदै
फाइल तस्बिर

प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले पर्यटकीय नगरी पोखरालाई देशका विभिन्न प्रदेशसँग सीधा उडान सञ्चालनलाई तीव्रता दिएको छ। बुद्धले यही भदौ १६ देखि पोखरादेखि सिमरा उडान गर्ने गृहकार्य अघि बढाएको हो।

मुलुककै महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सीधा उडान भर्ने तालिका सार्वजनिक गरेको हो। शुरुमा बुद्धले साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछ। पोखराबाट-सिमरा १२ः२० र सिमराबाट-पोखराको उडान १३ः१५ बजे तोकिएको छ।

उडानबाट दुवै प्रदेश तथा शहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ। यात्रुको मागअनुसार दैनिक उडान गर्ने तयारी भइरहेको सो एयरलाइन्सले बताएको छ। प्रादेशिक उडानले दुवै गतन्तव्यका पर्यटकीयस्थलमा चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए। सिमरा–वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा चहलपहल बढ्ने उनको विश्वास छ। वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिमरा-वीरगञ्जका बासिन्दाले पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्नेछन्। यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहर पटना, दरभङ्गा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ। बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज ल्याएको छ।

सिमरा-पोखरा प्याकेजका लागि १०,९९९ मा दुई रात तीन दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थल गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ। यसअघि पोखरा-भैरहवा, भरतपुर-पोखराबाट सीधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि पोखरा-नेपालगञ्ज पनि सीधा उडान जोडेको छ। बुद्ध एयरसँग हाल एटीआर-७२ जहाज १० वटा, एटीआर-४२ जहाज तीन र क्राफ्ट दुई वटा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved