काबुलमा सकस : बढ्दो बजार मूल्य, बैंकिङ सेवा ठप्प

नेपाल भ्युज

काबुलमा सकस : बढ्दो बजार मूल्य, बैंकिङ सेवा ठप्प

एजेन्सी। अफगानिस्तानको राजधानी शहर काबुलमा वस्तुको मूल्यमा व्यापक वृद्धि भएको छ। बैंकिङ सेवासमेत ठप्प भएको पाइएको छ। गत साता तालिबान समूहले देशव्यापी कब्जा जमाएपछि त्यहाँ देखिएको अनिश्चितताको फाइदा उठाउँदै व्यापारीले वस्तुको मूल्यमा व्यापक वृद्धि गरेका हुन्।

खामा प्रेसका अनुसार बैंक बन्द र सबैभन्दा ठूलो पैसा साट्ने बजार साराई शाहजादा बन्द हुँदा काबुलका मानिसले कठिनाइको सामना गरिरहेका छन्। सरकारी अधिकारी तथा अन्य निजी कर्मचारीले पनि आर्थिक समस्याको सामना गरिरहेका छन्।

अगस्ट महिना समाप्त हुनै लागेको छ। तर पनि अफगानमा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई आफ्नो तलबको कुनै छनक छैन। बैंकहरू बन्द गर्दा मानिसले आफ्नो बैंक खातामा पैसा भएपनि तिनीहरूले आफ्नो रकम झिक्न बैंकिङ पहुँच प्राप्त गर्न सकिरहेका छैनन्।

शनिबारको दिन साराई शाहजादाले एक बयानमा बताएअनुसार मुद्रा सटही बजार अफगानिस्तानको केन्द्रीय बैंक, अफगानिस्तान-डे अफगानिस्तान बैंकमा प्रत्यक्ष रूपमा निर्भर हुने भएकोले उक्त बैंकले सेवा सञ्चालन पुनःआरम्भ नगरेसम्म बन्द रहने छ। निजी बैंकले अनिश्चितकालका लागि बन्द रहने घोषणा गरेका बेला सरकारी बैंक खुल्नेबारे कुनै औपचारिक घोषणा भएको छैन।

गत साता तालिबानले काबुल कब्जा गरेपछि मानिस राष्ट्र छोड्न दौडधुपमा रहेकाले अफगानिस्तानको अवस्था बिग्रँदै गएको छ। अगस्ट १५ मा राष्ट्रपति असरफ घानीले झडप र सुरक्षाको कारण देखाउँदै विदेश पलायन भएपछि अफगानिस्तानमा अहिले सरकारविहीन अवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved