पत्रकारसमक्ष ओलीले भने, ‘दैलेखको पेट्रोलियम पदार्थको सम्भाव्यतामा चासो दिनुस्’

नेपालभ्युज

पत्रकारसमक्ष ओलीले भने, ‘दैलेखको पेट्रोलियम पदार्थको सम्भाव्यतामा चासो दिनुस्’

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन्।

उक्त उत्खनन भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उनको भनाइ छ। अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उनले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गरे।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायत क्षेत्रमा चीन सरकारसँग जिटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो।

भेटमा अध्यक्ष ओलीले कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन, मुगुको रारा तालको प्रवर्द्धन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु र हुम्लामा पाइने जीवनबुटी (यार्सागुम्बा) लगायतका बहुमूल्य जडीबुटीको बुद्धिमतापूर्ण संकलन र प्रशोधनको कामको थालनी भएमा सो प्रदेशको पहिचान नै बदलिने बताएका भेटमा सहभागी दैलेखका पत्रकार विष्णु शर्माले जानकारी दिए।

कर्णाली प्रदेश स्रोतसाधनमा धनी भएकाले हावाबाट बिजुलीको उत्पादन, जडीबुटीको पहिचान र प्रशोधन पनि गर्न सकिए प्रदेशका साथै देशकै समृद्धि हुने भएकाले आफूहरूले राजनीतिक नेतृत्वलाई निरन्तर ध्यानाकर्षण गराउने सो प्रदेशका पत्रकार नवराज महतराले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved