स्वास्थ्यका लागि कति फाइदाजनक क्वाँटी ?

नेपालभ्युज

स्वास्थ्यका लागि कति फाइदाजनक क्वाँटी ?

काठमाडौं । आज जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन । आज क्वाँटी खाने दिन मात्र नभएर क्वाँटी खाएरै स्वस्थ्य हुने दिन पनि हो । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।

’क्वाँटि’ शब्द नेपालभाषाको ’क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ’क्वा’ को अर्थ तातो र ’ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ’क्वाति’ वा ’क्वाँटी’को अर्थ तातो सुप भन्ने बुझिन्छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ ।

क्वाँटीमा नौ थरीका गेडागुडीहरु चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खाने चलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रने गरी पानीमा भिजाउने चलन छ ।

टुसा उम्रेका गेडागुडी स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ । महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा पनि रहँदै आएको छ ।

परम्परागत रूपमा यसले जाडो मौसम सुरु भएको सन्देश पनि दिन्छ । जाडोका बेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाँटी खाने प्रचलन अविच्छिन्न रहिआएको मानिन्छ । त्यसैको निरन्तरताका लागि यसलाई सांस्कृतिक रूप दिइएको जानकारहरु बताउँछन् ।

स्वास्थ्यका लागि क्वाँटी कति फाइदाजनक ?
टुसा उमारेको क्वाँटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन १० गुणा बढ्न जान्छन् । त्यसैले सय रूपैयाँको सुक्खा क्वाँटी ल्याएर टुसा उमारेर खाने हो भने ४ सय रूपैयाँसम्मको फाइदा लिन सकिने बताउँछिन् जनस्वास्थ्यविद्ध डा.अरुणा उप्रेती ।

डा. उप्रेतीका अनुसार क्वाँटी जीवन्त खाना हो । यसलाई पचाउन पनि निकै सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाँटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाँटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन । गर्भवतीमा रगतको कमी नभएपछि भ्रुण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाँटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको सेवनले महिलाको दूध राम्रोसँग आउने हुँदा बच्चालाई पर्याप्त मात्रामा दूध प्राप्त हुन्छ ।

क्वाँटीको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, जसले आमाको दूध पनि बढाउने गर्छ । त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाँटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक भएको डा. उप्रेती बताउँछिन् ।

कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका बेला पनि क्वाँटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा-मासु खाँदैनन्, उनीहरूका लागि क्वाँटी अति उपयोगी हुन्छ । त्यस्तै क्वाँटीले प्रोटिन तथा अन्य पोषकतत्त्व पनि भरपूर प्रदान गर्ने डा. उप्रेतीको भनाइ छ ।

क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर मकै पिठोमा मिलाएर बालबालिकाका लागि खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । किनभने, मकैमा भएको कार्बोहाइड्रेड, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ ।

क्वाँटी खानुका अन्य फाइदा
क्वाँटी शक्तिवर्धक एवं पौष्टिक आहार हो । यसमा भिटामिन ‘बी’को सबैजसो प्रकार पाइन्छ ।
क्वाँटी खाँदा आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
यसको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
कब्जियतको र पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।

हाम्रो संस्कृतिमा क्वाँटीको रस खाने विशेष दिनत त छ नै, अन्य बेलामा पनि क्वाँटीको रस खाँदा शरीर स्वस्थ रहन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ । टुसा उमारेको कुनै पनि गेडागुडी जस्तो चना, मटर, केराउ, बोडी, बकुला, मेथी मात्र होइन कि आलस, तिल, बदाम पनि टुसा उमारेर खान सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved