कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

नेपालभ्युज

कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

काठमाडाैं। कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारको ध्यानाकर्षण गरेको छ।

दुई-दुई पटक कक्षा १२ को परीक्षा स्थगित हुनुलाई समितिले अस्वाभाविक रूपमा लिएको आज बसेको समितिको बैठकमा समिति सभापति जयपुरी घर्तीले बताइन्। ‘बजार, यातायात, अफिसजस्ता सबै कुरा खोल्न हुने तर, कक्षा १२ को परीक्षा गरे कोरोना सर्ने ?,’ उनले प्रश्न गरिन्।

परीक्षाको टुंगो नलगाग्दा विद्यार्थीको मनोविज्ञानमासमेत असर परेको उनले बताइन्। ‘प्राविधिक कारणले आजै निर्देशन दिन नसकेको हुँदा अब छिटो परीक्षा गरेर निकास दिन अनुरोध गर्छु,’ उनले भनिन्। बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाबारे बोर्डलाई जानकारी नदिई परीक्षा स्थगित गरेको बताए। उनले परीक्षाको तयारी सकिएपछि परीक्षा रोक्नुपरेको भन्दै ‘कुन भेरियन्टका कारण परीक्षा रोक्नुपरेको हो’ भनी प्रश्नसमेत गरे।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले परीक्षा गराउन सरकार सक्षम भएको भन्दै एकपटकमा नसके दुई चरणमा भए पनि परीक्षा गराउन सकिने बताए।

बैठकमा त्रिविअन्तर्गत निजी इन्जिनियरिङ क्याम्पसको शुल्कको विषयमा पनि छलफल भएको थियो। बैठकमा इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशीले संस्थानले परीक्षा कुनै हालतमा नरोक्ने भन्दै सम्बन्धित क्याम्पसलाई शुल्क ‘ब्रेक डाउन’ गरी समस्या समाधान गर्न सकिने बताए।

सभामुख घर्तीले निजी क्याम्पसले भ्रमण, खेलकुद तथा स्वागत कार्यक्रमका नाममा विद्यार्थीसँग शुल्क असुल्नु गलत भएको भन्दै ती क्याम्पसलाई नियमन गर्न अनुरोध गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved