यसकारण छापिएन एमालेका १४ सांसद पदमुक्त भएकाे सूचना

नेपालभ्युज

यसकारण छापिएन एमालेका १४ सांसद पदमुक्त भएकाे सूचना

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीकाे निर्णय नमानेकाे तथा ह्वीप उल्लंघन गरेकाे आराेपमा कारबाही गरेकाे सूचना संसद सचिवालयमा पुगेर पनि सूचना पाटीमा नटाँसिएपछि अहिले राजनीतिमा नयाँ तरंग पैदा भएकाे छ। एमालेले सभामुख अग्निप्रसाद सापकाेटाले भूमिका खेलेर आफ्नाे पार्टी फुटाउन  लागेकाे आराेप लगाएकाे छ।

तर, सभामुखकाे सचिवालयले भने सांसदहरूलाई कारबाही गरेकाे पत्र सूचना पाटीमा ‍टाँस्नका लागि भएकाे ढिलाइमा सभामुख सापकाेटाकाे कुनै नकारात्मक भूमिका नभएकाे बताएकाे छ । नेपाल भ्यूजसँगकाे कुराकानीका क्रममा सभामुख सापकाेटाका प्रेस सल्लाहकार श्रीधर न्याैपानेले सभामुख कानुनी परामर्शमा रहेका कारण केही समय लागेकाे बताए।

यसअघि, शुक्रबार माधव नेपालसहित नेकपा एमालेबाट निष्काशनमा परेका १४ जना सांसदको नाम (सूचना) टाँस्न दबाब दिन एमालेका केही नेताहरू सभामुख अग्नि सापकोटाकाे कार्यकक्षमा पुगेका थिए। एमाले सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बाँस्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, लालबाबु पण्डितलगायत केही नेताहरू सूचना टाँस्न दबाब दिन सभामुखको कार्यकक्षमा पुगेका थिए।

पार्टीले गरेको कारबाहीलाई कानुनबमोजिम अघि बढाउन उनीहरूले सभामुखको ध्यानाकर्षण गराएका हुन्। संसदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा एमालेले १४ जना सांसदलाई पार्टीबाट निष्काशन गरेको हो।

बुधबार प्रमुख सचेतक विशाल भट्टराई सहितले औपचारिक रुपमा सभामुखलाई कारबाही प्रक्रिया बढाउन आग्रह गरेका थिए। तर, सभामुखले अध्ययनपछि मात्र यस विषयबारे निर्णय लिने बताएका थिए। एमालेले माधव नेपालसहित १४ जनालाई कारबाही गरेर सांसदबाट पदमुक्त गरेको सूचना संसद सचिवालय र निर्वाचन आगयोमा भदौ १ गते नै पठाएको थियो।

तर, सभामुख सापकोटाले एमालेले पठाएकाे कारबाहीकाे पत्रअनुसार सांसदहरूलाई पदमुक्त गरिएकाे सूचना टाँसेनन्। यसअघि, जनता समाजवादीले सरिता गिरी र नेकपा माओवादी केन्द्रले एमालेमा लागेका सांसदहरुलाई कारबाही गर्दा तत्काल सूचना टाँस गरेका सभामुख सापकाेटाले यसपटक भने आलटाल गरेका हुन् ।

सभामुख सापकाेटाले आफू अध्ययन र परामर्शमा रहेकाे भन्दै विज्ञकाे रायअनुसार गर्ने बताएपछि एमालेका नेताहरूले सभामुख सत्ता गठबन्धनकाे मतियार बनेर एमाले फुटाउनका लागि लागेकाे आराेप लगाएका छन् । यता, सापकाेटाका प्रेस सल्लाहकार श्रीधर न्याैपानेले भने एमालेका सांसदहरूको शैली र प्रमुख प्रतिपक्षी दलको नेताको भनाइका कारण निर्णयमा ढिलाइ भएकाे नेपाल भ्यूजलाई बताए।

सभामुखकाे कार्यकक्षमा उपस्थित सांसदहरुकाे बाेल्ने शैली, प्रस्तुतीकरण तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीकाे वक्तव्यका कारण थप समस्या उत्पन्न भएकाे न्याैपानेले बताए । उनले सभामुख सापकाेटा छलफल तथा परामर्शमा रहेकाे र कानुनअनुसार निर्णय लिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved